विश्वासको मत नलिँदै मुख्यमन्त्री शाक्य अल्पमतमा, बागमतीमा विपक्षी गठबन्धनको सरकार बन्ने।

काठमाडौं:= बागमती प्रदेश सरकार परिवर्तन हुने निश्चित भएको छ । प्रदेशसभामा विपक्षी गठबन्धनको स्पष्ट बहुमत भएकाले वर्तमान सरकार परिवर्तन हुने निश्चित भएको हो । प्रदेशसभामा हाल कायम १०९ जना सांसदमध्ये सरकार बनाउन ५५ जना सांसद चाहिन्छ । एमाले विभाजनपछि १३ जना सांसद नवगठित एकपा (एकीकृत समाजवादी)मा खुलेका छन् । यसअघि ५६ सांसद रहेको एमाले अहिले ४३ मा खुम्चिएको छ । विपक्षी गठबन्धन बाहेकका सबै दल मिल्दा पनि एमाले सरकार अल्पमतमा पर्छ ।

बागमती प्रदेशसभामा कायम रहेका स–साना दलहरूको समर्थन पाउँदासमेत मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार टिक्ने अवस्था देखिँदैन । ४३ सांसदमा खुम्चिएको एमालेलाई सरकार टिकाउन थप १३ सांसद आवश्यक हुन्छ । बागमती प्रदेशसभाका साना चार दलका कुल आठ सांसद मात्रै छन् । प्रदेशसभामा साना दल विवेकशील साझाका तीन, राप्रपाका दुई, नेमकिपाका दुई र स्वतन्त्र एक गरी आठ सांसद् छन् ।प्रदेशमा नेकपा माओवादी केन्द्र २३, नेपाली कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ सांसद छन् । यी तीन दल मिल्दा प्रदेशसभामा गठबन्धनको पक्षमा ५८ सांसद हुन्छन् । जो प्रदेशसभाको पूर्ण बहुमत हो । केन्द्रमा यिनै तीन दलसहितको गठबन्धन कायम छ ।

एमालेबाट प्रदेश सरकारको नेतृत्व गरिरहनुभएकी मुख्यमन्त्री शाक्य मुख्यमन्त्री बनेको एकसातामै अल्पमतमा पर्नुभएको थियो । भदौ २ गते एकता जोगाउन भन्दै एमालेले तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा दिन लगाएर एमालेबाटै शाक्यलाई मुख्यमन्त्री बनाएको थियो । त्यसअघि उहाँ माधव नेपालको पक्षमा हुनुहुन्थ्यो । तर, शाक्य मुख्यमन्त्री बनेको एकसातामै एमाले विभाजन भएपछि उहाँ अल्पमतमा पर्नुभयो ।

केन्द्रको निर्णयको पर्खाइमा कांग्रेस र समाजवादी

बागमतीमा गठबन्धनले प्रदेश सरकारको नेतृत्व लिने निश्चित भएसँगै नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । नेपाली कांग्रेस र एकीकृत समाजवादीमध्ये एउटाले नेतृत्व गर्ने पक्का जस्तै छ । माओवादी केन्द्रको अन्य तीनवटा प्रदेशमा प्रदेश सरकारको नेतृत्व गरेका कारण बागमतीमा कांग्रेस–समाजवादीमध्ये एउटाले नेतृत्व गर्ने सम्भावना छ । प्रदेश १ र बागमती प्रदेशमध्ये कांग्रेसले कुनै एकमा र अर्कोमा नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने भएकाले केन्द्रले नै निर्णय गरेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

अल्पमतमा हुँदा पनि राजीनामा नदिएकाले लगत्तै विशेष अधिवेशन आह्वान गरेर प्रदेशसभामा सरकारविरुद्ध अविश्वास प्रस्ताव लैजाने तयारी गठबन्धनको छ । संसद् अधिवेशन अन्त्य भएको बेलामा बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी गर्दै प्रदेशसभाको विशेष अधिवेशन माग गर्ने उनीहरूको तयारी छ । तर, त्यसअघि केन्द्रले कसको सरकार बन्ने भन्नेबारे सहमति गर्नुपर्ने छ ।

गठबन्धन सरकार बन्ने निश्चित भएपछि दलका नेताहरूले मुख्यमन्त्रीमा समेत दाबी गर्न थालेका छन् । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्रीको दाबेदार हुनुहुन्छ । एकीकृत समाजवादीका बागमती संसदीय दलका नेता राजेन्द्र पाण्डे छिट्टै गठबन्धनको सरकार बन्ने बताउनुहुन्छ । आइतबार बसेको दलको बैठकबाट दलको नेतामा चयन हुनुभएका पाण्डेले मुख्यमन्त्री शाक्यलाई आफूहरूको समर्थन नरहेको जानकारी प्रदेशसभालाई दिइसकेको बताउनुभयो ।

‘नयाँ सरकार बन्ने त निश्चित नै छ,’ उहाँले भन्नुभयो– ‘उहाँ मुख्यमन्त्री बनेदेखि नै अल्पमतमा पर्नुभएको हो । अब नयाँ सरकार कसरी बनाउने भन्नबारे छलफल गर्दैछौँ । हामीले हाम्रो समर्थन नरहेको जानकारी संसद् सचिवालयलाई गराएका छौँ।’

त्यस्तै, कांग्रेस प्रमुख सचेतक राधा घलेले केन्द्रमा गठबन्धनले निर्णय गरेपछि नयाँ सरकार गठन हुने बताउनुभयो । नयाँ सरकार गठनबारे आन्तरिक छलफलसमेत भइरहेको बताउँदै उहाँले बागमतीमा आलोपालो सकार बन्नसक्ने संकेत गर्नुभयो । ‘नयाँ सरकार त बन्छ नै । वर्तमान मुख्यमन्त्री अल्पमतमा परिसक्नुभयो,’ उहाँले भन्नुभयो– ‘हामीले पनि सामान्य आन्तरिक कुराकानी गरिरहेका छौँ । कसको नेतृत्वमा बन्ने र कहिले बन्ने भन्नेबारे केन्द्रबाटै निर्णय हुन्छ । सायद आलोपालो सरकार बन्छ होला ।’

दलको संख्या आठ पुग्यो

नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका सांसदलाई मान्यता दिँदै निर्वाचन आयोगले प्रदेशसभालाई आधिकारिक रूपमा पत्र पठाएको छ । आइतबार निर्वाचन आयोगबाट एकीकृत समाजवादीको आधिकारिकता र आबद्ध सांसदहरूको नामावलीसहितको पत्र बागमती प्रदेशसभा सचिवालयमा दर्ता भएको हो । एकीकृत समाजवादीलाई आयोगले मान्यता दिएसँगै बागमती प्रदेशमा रहेका दलको संख्या आठ पुगेको छ ।

बागमती प्रदेशसभामा अब सबैभन्दा ठूलो दल नेकपा एमाले (४३), नेकपा माओवादी केन्द्र (२३) दोस्रो, नेपाली कांग्रेस तेस्रो (२२) र नेकपा एकीकृत समाजवादी (१३) चौथो दल बनेको छ । त्यस्तै, तीन सांसद् रहेको विवेकशील साझा पार्टी पाँचौं, दुई÷दुई सांसद रहेका राप्रपा र नेमकिपाका क्रमशः छैटौं र सातौं स्थानमा छन् । एक स्वतन्त्र सांसद् छन् । उहाँ जसपानिकट हुनुहुन्छ । यसअघि बागमती प्रदेशसभामा सातवटा दलको प्रतिनिधित्व रहेको थियो ।