सङ्खुवासभा:= सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
आइतबार चैनपुरमा पत्रकार सम्मेलनमार्फत प्रहरीले हत्यामा संलग्न भएको आरोपमा नातामा भतिजो पर्ने मादी –१ उम्लिङ खोला गाउँका २६ वर्षीय कार्कीलाई आज आइतबार सार्वजनिक गरेको हो।
गत सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्की गरि ६ जनाको हत्या भएको थियो।
लोकबहादुर मृतक तेजबहादुरका भतिज हुन् । प्रहरीले लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा बरामद गरेको थियो । । लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको प्रहरीको बयानमा भनेका थिए ।




















