बिहे गर्ने खालको प्रेममा परेको छैन : कुमार कट्टेल ‘जिग्री’

नेपाली टेलिचलचित्र क्षेत्रको परिचित उपनाम हो जिग्री । वास्तविक नाम कुमार कट्टेल रहे पनि अधिकांश दर्शकले उहाँलाई जिग्री नामबाटै चिन्ने गर्छन् । ‘सिस्नुपानी झ्याम्मै’, ‘भद्रगोल’ हुँदै ‘सक्किगो नि’  टेलिचलचित्रसम्मको यात्रामा आइपुग्दा जिग्रीको चर्चा देशदेखि विदेशसम्म छ । ‘सक्किगो नि’ मा कथालेखन, निर्देशन र अभिनय गर्नुभएका जिग्रीको युवा भएकाले पनि प्रेमको चर्चा भइरहन्छ । पर्दामा पनि प्रेमकै चर्चा बढी हुने भएकाले पर्दाबाहिर पनि अलि-अलि प्रेमको चर्चा चल्ने नै भयो । जिग्री उमेरले तीन दशक पार गरिसक्नुभएको छ । यसैबीच सञ्चारकर्मी गोपिकृष्ण चापागाईं ले ‘प्रेमका पाँच प्रश्न’ सेग्मेन्टका लागि सोध्नुभएका प्रश्नमा जिग्रीको उत्तर :-

प्रेममा पर्नुभएको छ ? 

यो उमेरसम्म आइपुग्दा प्रेममा नपर्ने भन्ने त पक्कै हुँदैन । तर, प्रेमको भूत विद्यालय लेभलमा चाहिँ अलि बढी भयो । अहिले सम्झेर भन्दा प्रेममा परेको थिएँ भन्नुप¥यो । सजिलै परियो र सजिलैसँग प्रेमबाट निस्किएँ । १६÷१७ वर्षको उमेरमा प्रेममा पर्न पनि विशेष प्रयास गर्न नपर्ने र ब्रेकअप हुन पनि विशेष कारण नचाहिने रहेछ । केटाकेटीकै उमेर भएकाले होला त्यो बेलाको प्रेम काँचो थियो । पछिल्लो समयको प्रेमको कुरा गर्नुहुन्छ भने लाखौं करोडौं दर्शकको मायाप्रेममा परेको छु । बिहे गर्ने खालको विशेष प्रेममा चाहिँ अहिलेसम्म छैन भन्नुपर्‍यो ।

प्रेम प्रस्ताव कत्तिको आउँछन् ? सेलिब्रेटीलाई प्रस्ताव आउनु साधारण मान्नुहुन्छ कि गम्भीरतापूर्वक लिनुहुन्छ ? 

प्रेमका लागि प्रस्ताव त धेरै आउँछन् तर कसरी कुन तरिकाले आएका छन् त्यो महत्वपूर्ण हुनेरहेछ । कलाकारितामा लोकप्रियता कमाउँदै गएपछि कलाप्रतिको माया र सम्मानका लागि आउने प्रेम प्रस्तावलाई सामान्यरूपमा लिन्छु । कलाकारिताबाटै चिनेर आफूले चाहेको मान्छेप्रति माया दर्शाउनु त मैले त्यसलाई सम्मानजनकरूपमा नै लिन्छु । कतिपय यस्तो प्रस्ताव हुन्छन्, मेरो जिन्दगीमा यो मान्छे नभए पनि हुन्छ तर म सधैं माया गर्छु भन्ने खालको प्रेम प्रस्ताव पनि हुन्छन् । यसो भनिरहँदा बिहेकै लागि भनेर प्रेम प्रस्ताव आउँदै नआएका होइनन्, अहिले पनि आउँछन् । तर, कलाकारितामा देखेर आकर्षण भएर बिहे नै गर्छु भन्नु स्वाभाविक नहोला । सेलिब्रेटी भइसकेपछि आउने प्रेम प्रस्तावलाई साधारण नै मान्छु तर कलाप्रतिको त्यो माया भएकाले म उहाँहरूलाई सम्मान गर्छु ।

कुनै त्यस्तो फ्यान जो प्रेमका लागि मरिहत्ते गरेको क्षण सम्झनुहुन्छ ?

मेरो कलाकारितालाई माया गरेर धेरै प्रस्ताव आए तर कुनै यस्ता प्रस्ताव पनि हुँदारहेछन् जुन झ्याप्पै भुल्न गाह्रो पर्नेरहेछ । मरिहत्ते गरेको क्षण भन्दै गर्दा एक युवती साथीको याद आउँछ । नाम त खुलाउन चाहिनँ तर उहाँ अस्ट्रेलिया बस्दै आउनुभएको छ । झण्डै एक वर्षअघिको कुरा हो । मलाई निकै फोन गर्ने, हालखबर बुझ्ने गर्नुहुन्थ्यो । उहाँले धेरै माया गर्छु पनि भन्नुहुन्थ्यो । नेपाल आउँछु, तपाईसँग भेट्न चाहन्छु भन्नुहुन्थ्यो र उहाँ आउनु पनि भयो तर त्यो समयमा फेरि समयतालिका नमिल्दा उहाँसँग भेट्न पाएको थिएन र उहाँले मलाई नभेटी फर्किनुभएको थियो । त्यो क्षण बढी सम्झना आउँछ । मैले उहाँलाई सम्मानजनक तरिकाले भेट्नुपर्ला भनेको थिएँ तर त्यही बेलामा समय नमिल्दा भेट्नै सकिनँ ।

अन्य प्रेम प्रस्तावहरू पनि आउँछन् । बिहान ‘गुड मर्निङ’ देखि खाना खानुभयो भन्नेदेखि ‘गुड नाइट’ सम्म भन्ने धेरै हुनुहुन्छ । भेट्नकै लागि मरिहत्ते गर्ने पनि धेरै हुनुहुन्छ ।

बिहे कस्तो व्यक्तिसँग गर्न चाहनुहुन्छ ? कलाकारिताकै कि अन्य क्षेत्र ? 

बिहे नै गर्नुपर्दा विशेष गरी मलाई र मेरो परिवारलाई बुझ्ने हुनुपर्‍यो । अर्को कुरा मलाई सहज हुनुप¥यो । क्षेत्र चाहिँ कलाकारिता या अन्य कुनै फरक पर्दैन । सहयोगी मन भएको होस्, बानी–व्यवहारले मान्छे राम्रो होस् ।

अहिलेसम्मको बुझाइमा प्रेम के रहेछ ?

प्रेम भनेको एउटा ऊर्जा प्राप्त गर्ने महसुस तथा सहारा हो । आफूभित्र उत्पन्न हुने कतिपय भावना, सोचको अनुभूति हो जस्तो लाग्छ । प्रेमलाई शब्दमा भन्नुभन्दा पनि भोगेको मान्छेसँग विशेष अनुभव हुन्छ । प्रेमले जे होस् काममा होस् या अन्य कुरामा ऊर्जा प्रदानगर्छ ।