क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ हुँदै, घिमिरेलाई सम्मान, गिरीलाई पुरस्कार।

काठमाडौं:= २०७८ सालको दशैँ छेका आयोजना गरिने क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को विभिन्न विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गायन, संगीत, म्युजिक भिडियोको विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ ।

अवार्डको आयोजना क्वालिटी फिल्मस् प्रालिले गर्न लागेको हो । क्वालिटी फिल्म्सका अध्यक्ष तथा अवार्डका आयोजक उमेश गुरुङले दोस्रो कोरोना लहरको महामारीपछि सुस्ताएको नेपाली गीत संगीत तथा चलचित्र बजारलाई चलाएमान बनाउन, श्रष्टालाई सम्मानसँगै गुणस्तीय सिर्जनालाई पुरस्कृत गर्न यो अवार्ड आयोजना गरिँदैछ ।

यो अवार्ड अहिले गीत संगीतअन्तर्गत लोक, आधुनिक, पप अधुनिक, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावका गीतबाट गायक गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वानि मिश्रणजस्ता विधामा प्रदान गर्न लागिएको हो। यिनै विधामा अहिले मनोनयन सार्वजनिक गरिएको छ ।

यस्तै म्युजिक भिडियोअन्तर्गत निर्देशक, मोडल महिला÷पुरुष, छायांकार, सम्पादक जस्ता विधामा अवार्ड प्रदान गरिँदै छ । यिनै विधाको मनोनयन सूची क्वालिटी फिल्मले बुधबार सार्वजनिक गरेको छ । मनोनयनमा परेकाहरूलाई यही शुक्रबार २५ भदौमा राजधानीको बिजुली बजारस्थित कार्निभल पार्टी भेन्युमा बिहान ११ बजे मनोनयनको प्रमाणपत्र प्रदान गरिने भएको छ ।

यसैगरी चलचित्र विधामा पनि क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि २०७५ र २०७६ सालका फिल्महरूको मनोनयन सूची सार्वजनिक गरिएको छ । जसमा निर्देशक, नायक, नायिका, नवनायक, सहनायक, खलनायक, चरित्र अभिनेता, हास्य अभिनेता, छायांकार, सम्पादक, रंग संयोजक, संगीतकार, प्रोडक्सन म्यानेजरजस्ता विधामा मनोनयन सार्वजनिक गरिएको छ ।

क्वालिटी इन्टरटेनमेन्टले यसवर्ष अग्रज चलचित्र निर्देशक तुलसी घिमिरेलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने भएको छ । यस्तै पत्रकार तुलसी गिरी भावुकलाई पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने घोषणा पनि गरेको छ ।