पेट्रोलियम पाइपलाइन: दुई वर्षमा तीन अर्ब बचत, पेट्रोल र मट्टीतेल पनि छिट्टै पाइपलाइनबाटै।

काठमाण्डौ:= नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि ढुवानीबापत तीन अर्ब २३ करोड २२ लाख १६ हजार रुपैयाँ बचत भएको आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । पेट्रोलियम पदार्थको ढुवानी भाडा र प्राविधिक नोक्सानी कम हुँदा निगमले तीन अर्बभन्दा धेरैकाे बचत गर्न सकेको उहाँ बताउनुहुन्छ ।

पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनको सहयोगमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ७९ किलोमिटर पाइपलाइन निर्माण गरेर २०७६ भदौदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउन सुरु गरेको हो ।

दुई वर्षको अवधिमा पाइपलाइनबाट एक अर्ब ६१ करोड लिटर डिजल आयात गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ४८ करोड ८५ लाख लिटर, आव २०७७/७८ मा एक अर्ब ३१ तथा चालु आवको अहिलेसम्ममा १२ करोड ४४ लाख डिजल आयात भएको निर्देशक पौडेलले जानकारी दिनुभयो । निगमले त्यही पाइपलाइनबाट दैनिक एक लाख ५० हजार किलोलिटर डिजल आयात गर्दै आएको छ ।

परियोजना सञ्चालनमा आएपछि उपभोक्तामा पेट्रोलियम पदार्थ अभाव हुँदैन भन्ने अनुभूति भएको, ढुवानीकर्ताले खेप्नुपर्ने सास्ती हटेको र परियोजना समयमा सम्पन्न गरेर जी–टू–जी मोडलको सफल परियोजनाको रूपमा एउटा उदाहरण बन्न सफल भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाले निगमको प्राविधिक रूपान्तरणको प्रतिनिधित्व गरेको पौडेलको भनाइ छ ।

पेट्रोल र मट्टीतेल छिट्टै पाइपलाइनबाटै

पेट्रोल र मट्टीतेल पनि एउटै पाइपलाइनबाट ल्याउन निगमले प्रक्रिया थालेको छ । यसका लागि निगमले भारतीय आयल कर्पोरेशनकै सहयोगमा प्रक्रिया अघि बढाइसकेको छ । अहिलेसम्म पाइपलाइनबाट डिजल मात्रै आयात हुँदै आएको थियो ।

निगमको प्रदेश नम्बर २ प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार यादव अबको डेढ वर्षमा एउटै पाइपलाइनबाट पेट्रोल, डिजल र मट्टीतेल आउन सुरु हुने बताउनुहुन्छ । परियोजना सम्पन्न भएपछि पेट्रोलियम पदार्थ लिन भारततर्फ पुग्न नपर्ने उहाँको विश्वास छ । यसबाट निगमले मासिक थप ११ करोड रुपैयाँकाे बचत गर्नसक्ने उहाँले जानकारी दिनुभयो ।

यस परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले अमलेखगञ्ज डिपोका प्राविधिकलाई तालिमसमेत प्रदान गरिसकेको छ । यादवको नेतृत्वमा प्राविधिक टोली गएकाे हप्ता भारत गएको थियो । प्राविधिकको टोलीले डिजल, पेट्रोल र मट्टीतेललाई फरक–फरक भण्डारण ट्याङकी राख्ने सम्बन्धमा प्रत्यक्ष अवलोकन गरेको थियो । #उज्यालो अनलाईन