४४ औं प्रधानसेनापति प्रभुराम शर्माद्वारा शपथग्रहण।

काठमाडौं:= नेपालको ४४औं प्रधानसेनापतिमा नियुक्त प्रभुराम शर्माले बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीबाट शर्माले शीलतनिवासमा एक समारोहबीच उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो ।

समारोहमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति थियो ।

प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथग्रहण गरेपछि कार्यभार सम्हाल्नुभएको छ । सैनिक परम्पराअनुसार नवनियुक्त प्रधानसेनापतिलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । सम्मानपछि उहाँले कार्यालय बहाली गरी प्रधानसेनापतिको कार्यभार सम्हाल्नुभएको थियो । नवनियुक्त प्रधानसेनापति महारथी शर्माले सैनिक मञ्च टुँडिखेल र वीर स्मारक छाउनीमा माल्यार्पणसमेत गर्नुभएको छ ।

उहाँ २०८१ भदौ २४ सम्म प्रधानसेनापति रहनुहुने छ  । उहाँले पूर्व-प्रधानसेनापतिहरू पूर्णचन्द्र थापा र राजेन्द्र क्षत्रीकै कार्यकालदेखि संगठनलाई माथिल्लो तहमा बसेर बुझ्ने अवसर पाउनुभएको छ । शर्मालाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले भाद्र ११ गते प्रधानसेनापतिमा नियुक्त गर्नुभएको थियो । अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गते सकिएपछि शर्मा प्रधानसेनापति बन्नुभएको हो । पदावधि समाप्त हुनुभन्दा एक महिना अघि अर्थात साउन २५ गतेदेखि नै थापा घरविदामा बसेपछि जेष्ठताका आधारमा शर्माले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी पाउनुभएको थियो । ब्राह्मण समुदायबाट प्रधानसेनापति बन्ने उहाँ पहिलो सैनिक अधिकारी हुनुहुन्छ ।

नवनियुक्त प्रधानसेनापति शर्माले आज (शुक्रबार) सकल दर्जालाई सम्बोधन गर्दै आफ्नो तीन वर्षे कार्यकालको रणनीतिक खाका सुनाउँदै हुनुहुन्छ । उहाँले सेनाका परमाधिपति तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएर आएलगत्तै पिएसोज बैठक राखेर आफ्नो कार्यशैली र योजना सुनाउनुभएको थियो । रथिबृन्दलाई उहाँले आफ्नो योजना सुनाउँदै त्यसमा सहयोग भूमिका र सामूहिक भावले अघि बढ्न सुझाएका छन् ।

शर्मा २०२० पौष ९ मा काठमाडौंमा जन्मिनुभएको हो । उहाँले २०४० सालमा सहायक सेनानी दर्जाबाट सैनिक सेवामा प्रवेश गर्नुभएको थियो । यसअघि विभिन्न महŒवपूर्ण पदमा रहेर काम गरिसक्नुभएका उहाँले बिहीबारसम्म बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।