नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशलाई २-१ गोलले हरायो।

काठमाडौं := नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालका लागि डेब्यु खेलाडी सबिता राना र प्रिती राईले समान एक/एक गोल गरिन् । यता, बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काईन् । खेलमा सविताले १४ मिनेटमा नेपाललाई अग्रता दिलाइन् । सविताले  राइट विंकर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । २४ मिनेटमा १६ वर्षकी युवा खेलाडी राईले डेब्यु गोल गरिन् ।

८१ मिनेटमा बंगलादेशकी खातुनले गरेको प्रहार नेपाली डिफेण्डर अमृता जैसीलाई छुँदै गोल भएको थियो । एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।