काठमाडौं:= नयाँ लघु चलचित्र ‘गहना’ सार्वजनिक गरिएको छ । करिब ३२ मिनेट लामो ‘गहना’मा एक जोडी पतिपत्नीको घरायसी समस्यालाई मुख्य विषय बनाइएको छ । यस लघु चलचित्रलाई सञ्चारकर्मी, निर्देशक लक्ष्मण सुवेदीले आफ्नो एक्शन कट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो ।
नजिकिँदै गरेको हरितालिका तीजलाई मध्येनजर गरिएको ‘गहना’ मा बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिकीको पाटोलाई निकै सशक्त रूपमा प्रस्तुत गरिएको छ । गहना नहुँदा माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छ भन्ने कुरा यो चलचित्रमा देखाइएको छ । गहनाले झपक्कै भएर माइत जानुपर्ने, जोरीपारीलाई देखाउनै पर्ने नेपाली समाजमा विद्यमान सोचले गर्दा कतिसम्म समस्या आउँछ भन्ने कुरालाई स्पष्ट रूपमा चलचित्रले प्रस्तुत गरेको छ । पहिलो भागमा प्रचुरमात्रामा सस्पेन्स छोडिएको चलचित्र तेस्रो भागसम्म निर्माण हुने जानकारी निर्देशक सुवेदीले दिनुभएको छ ।
अभिनेता नरेन खड्का, साया भण्डारी र पुरन थापा मुख्य भूमिकामा रहेको चलचित्रको स्क्रिप्ट पनि निर्देशक सुवेदी आफैंले लेख्नुभएको हो । विमल ढकालले खिचेको चलचित्रको मुख्य सहायक निर्देशक विनय पौडेल हुनुहुन्छ । ललितसिंह साउदले सम्पादन गरेको चलचित्रमा विनोद भुजेलको पाश्र्वसंगीत छ । दिलासा क्रिएसनको व्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदी निर्माता रहेको ‘गहना’ काठमाडौं आसपासमै खिचिएको हो ।




















