लुकाकुको १००औं खेलमा बेल्जियमको जित।

लन्डन:= स्ट्राइकर रोमेलु लुकाकुको एकसयौं खेलमा बेल्जियमले चेक रिपब्लिकलाई पराजित गरेको छ । यसै खेलमार्फत् इडेन हाजार्डले तीन वर्षपछि राष्ट्रिय टोलीमा गोलसमेत गर्नुभएको थियो । आइतबार राति घरेलु मैदानमा बेल्जियमले लुकाकु र हाजार्डको गोलको सहयोगमा चेक रिपब्लिकलाई ३-० गोल अन्तरले पराजित गरेको हो । युरोपेली छनोटको समूह ‘ई’ मा बेल्जियमलाई जित दिलाउनेक्रममा लुकाकले आठौं मिनेटमा गोल गर्नुभयो ।

उहाँले बेल्जियमबाट खेल्दा एक सय क्यापसमेत पूरा गर्नुभएको छ । २८ वर्षीय स्ट्राइकर लुकाकुको यो बेल्जियमबाट ६७ गोलसमेत हो । यस्तै, इडेन हाजार्डले खेलको ४१औं मिनेटमा दोस्रो अग्रता बनाउनुभयो । हाजार्डले सन् २०१९ नोभेम्बरपछि गरेको यो पहिलो गोल हो । तेस्रो गोल एलिसिस सेलमेकर्सले खेलको ६५औं मिनेटमा गर्नुभयो । उहाँले लुकाकुले दिएको बल पासमा गोल गर्नुभएको थियो ।

जितसँगै पाँच खेलबाट १३ अंक जोडेको बेल्जियम समूह ‘ई’ को शीर्षस्थानमा छ । पाँच खेलबाट सात अंक बनाएको चेक रिपब्लिक दोस्रो, तीन खेलबाट ६ अंक बनाएको वेल्स तेस्रो, चार खेलबाट तीन अंक जोडेको बेलारुस चौथो स्थानमा रहँदा तीन खेलबाट बिना कुनै अंक एस्टोनिया तालिकाको पुछारमा छ। समूह ‘ई’ को अर्काे खेलमा वेल्सले बेलारुसविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । कप्तान ग्यारेथ बेलले दुई पेनाल्टीसहित हृयाट्रिक गरेको खेलमा वेल्स ३–२ गोल अन्तरले विजयी भयो ।

यस्तै कतार विश्वकप छनोट तथा दक्षिण एसियाली छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ । सोमबार बिहान ब्राजिलको साओ पाउलोमा सुरु भएको खेल कोरोना मापदण्डविपरीत भएको भन्दै स्थगित भएको हो ।करिब ६ मिनेटको खेल जारी रहँदा ब्राजिलियन स्वास्थ्य अधिकारीहरू मैदान छिरेर खेल रोक्न निर्देशन दिनुभएको थियो। स्वास्थ्य अधिकारीले भ्रमण टोली अर्जेन्टिनाका चार खेलाडीले क्वारेन्टिन नियम तोडेको बताउनुभएको छ । हाल इंग्ल्यान्डबाट ब्राजिल प्रवेश गर्दा १४ दिनको क्वारेन्टिन व्यवस्था गरिएको छ । तर, इंग्ल्यान्डको प्रिमियर लिग खेलिरहेका खेलाडी क्वारेन्टिनमा नबसेको उहाँहरूको आरोप छ ।