तालिबान आएपछि यसरी पढाउन थाले अफगानिस्तानका विश्वविद्यालयले (तस्बिर)

एजेन्सी := अफगानिस्तानमा सोमबारदेखि निजी विश्वविद्यालयले फेरि पढाउन सुरू गरेका छन्। राजधानी काबुलसहित विभिन्न प्रान्तीय राजधानीमा रहेका विश्वविद्यालयले तालिबानहरूले सत्ता कब्जा गरेको तीन सातापछि फेरि कक्षा सञ्चालन गरेका हुन्। फेरि पढाइ सुरू हुँदा विश्वविद्यालयका कक्षाको वातावरण भने पहिलाजस्तो थिएन। सामाजिक सञ्जालहरूमा पोष्ट भएका तस्बिरहरूमा कक्षाकोठामा केटा र केटीलाई छुट्याउन बीचमा पर्दा राखिएको देखिन्छ।

विश्वविद्यालय फेरि खोल्नुअघि निजी विश्वविद्यालयको एसोसिएसनले कक्षा सञ्चालन निर्देशिका जारी गरेको थियो। उक्त निर्देशिकामा कक्षाकोठामा केटा र केटी सँगै बस्न नहुने, केटीहरूले अनिवार्य रूपमा बुर्का लगाउनु पर्ने, उनीहरूलाई क्याम्पसका केही निश्चित भागमा जान नदिने, केटीहरूलाई सकभर महिला लेक्चररले मात्र पढाउनु पर्ने त्यसो गर्न सम्भव नभए असल व्यवहार भएका बुढा लेक्चररले पढाए पनि हुने कुरा उल्लेख थियो।

समाचार संस्था रोयटर्सले यो निर्देशिका नै तालिबानहरूको आधिकारिक धारणा हो कि होइन भन्ने स्पष्ट भइनसकेको बताएको छ। एक जना तालिबान अधिकारीले कक्षाकोठामा पर्दा लगाएर पढाउने कुरा आफूहरूलाई स्वीकार्य हुने बताएका छन्। अफगानिस्तानमा पढाउने जनशक्तिको अभाव भएकाले एकै पटक एउटै लेक्चररले केटा र केटीलाई पढाउँदा सजिलो हुने उनको भनाइ छ।