बारा:= साल्ट ट्रेडिङ कर्पोरेसनको नुन घाटामै बिक्री गर्नुपरेको खुद्रा व्यापारीले गुनासो गरेका छन् । साल्टले प्रतिबोरा आयोनुन नौ सय ५० रुपैयाँमा उपलब्ध गराएको नुन प्रतिप्याकेट २० रुपैयाँमा बिक्री गर्दा घाटा हुने गरेको किराना व्यवसायी संघ बाराका अध्यक्ष विष्णु उपाध्यायले बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘एक बोरामा ५० प्याकेट नुन हुन्छ । प्रतिप्याकेट १९ रुपैयाँ हाम्रो खरिद पर्छ । डिलरबाट पसलसम्म ल्याउन ५० रुपैयाँ ढुवानी खर्च लाग्छ । अर्थात् प्रतिप्याकेट २० रुपैयाँ खरिद नै प¥यो । प्याकेटमा अधिकतम मूल्य २० रुपैयाँ प्रिन्ट गरिएको हुन्छ र खरिद मूल्यमै हामीले बिक्री गर्नुपर्ने बाध्यता रहेको छ । उपाध्यायका अनुसार एकातिर खरिद मूल्यमै बिक्री गर्नुपर्ने बाध्यता रहेको छ भने अर्कोतर्फ डिलरबाट नुन खरिद गर्दा एक बोराभन्दा कम पाइँदैन । नुनको बोरा खरिद गरी ल्याउँदा दुईदेखि छवटासम्म नुनको प्याकेट च्यातिएको हुन्छ ।’
तर, डिलरलाई नौ सय २५ रुपैयाँमा उपलब्ध गराउँदै आएको वीरगञ्ज साल्ट ट्रेडिङका प्रमुख आमोद लामिछानेले बताउनुभयो । डिलरवालाले अधिकतम २० रुपैयाँका दरले नुन बेच्न पाउने गरी व्यवस्था गरिएको हो । तर पनि डिलरबाट सब–डिलरवालाले नौ सय ६० देखि नौ सय ८० रुपैयाँसम्ममा पाउने गरेको उहाँको भनाइ छ । नुनको प्याकेट च्यातिएको भए फिर्ता गर्ने व्यवस्था रहेको उहाँले बताउनुयो ।
लामिछानेले भन्नुभयो, ‘च्यातिएका प्याकेट छन् भने फिर्ता गर्न सकिन्छ तर नुनको गुणस्तर चेक गरेरमात्र फिर्ता हुन्छ । बजारमा छुट दियो भन्दैमा मिसावट गरेर फर्काउन आउँछन्, त्यसैले च्यातिएको प्याकेटको नुनको गुणस्तर चेक गरेर र तौल गरेर त्यतिकै परिमाणको नुन उपलब्ध गराउन सकिन्छ ।’ उहाँले खुद्रा व्यापारीलाई घाटा भने परेको स्वीकार गर्दै खुद्रा व्यापारीका समस्याबारेमा सरकारलाई पनि जानकारी गराइएको बताउनुभयो ।




















