पत्रकारहरूको शिक्षादीक्षा र प्रशिक्षणमा लगानी गर्न विज्ञको सुझाव।

काठमाडौं:= वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्व-अध्यक्ष राजेन्द्र दाहालले पत्रकारहरूको शिक्षादीक्षा र प्रशिक्षणमा लगानी नगरिएका कारण पत्रकारिता गुणस्तरीय हुन नसकेको बताउनुभएको छ ।

सोमबार न्युज एजेन्सी नेपालले पत्रकारिता क्षेत्रमा देखिएका समस्या, चुनौती र आगामी कार्यभारको सम्बन्धमा गरेको अन्तरक्रियामा बोल्दै वरिष्ठ पत्रकार दाहालले पत्रकारहरूको शिक्षादीक्षा, प्रशिक्षण तथा अनुसन्धानमा लगानी गर्न नसकिएको कारण पत्रकारिता क्षेत्र गुणस्तरीय हुन नसकेको बताउनुभएको हो ।

पत्रकारको वृत्ति विकासमा राज्यले लगानी गर्न नसकेका कारण पत्रकारहरूले उत्कृष्ट विषयवस्तुहरू ल्याउन नसकेको उहाँको निष्कर्ष छ । केही विश्वविद्यालय र क्याम्पसहरूले पत्रकारिताका विद्यार्थी उत्पादन गरेकै आधारमा पत्रकारहरूको मागलाई धान्न नसकिने पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रमा हुबहु कपी गर्ने समस्या विकराल रूपमा रहेकाले त्यसलाई रोक्नका लागि प्रेस काउन्सिल नेपाल केन्द्रित भएर लागेको बताउनुभयो । यसको सम्बन्धमा सम्बन्धित निकायलाई बोलाएर छलफल गर्नेदेखि सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको पनि उहाँले बताउनुभयो । त्यसैगरी, चलिरहेको मिडियासँग मिल्दोजुल्दो नाम राख्ने कामलाई पनि निरुत्साहित पार्न लागिएको उहाँले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका उपप्राध्यापक तथा पत्रकार जगत नेपालले पत्रकारिता उद्योगको रूपमा विकास भए पनि जनशक्ति व्यवस्थापन भने गर्न नसकेको बताउनुभयो । समाचार कक्षहरू कमजोर देखिन थालेको उहाँले टिप्पणी गर्नुभयो ।

प्रविधिको विकास र परिवर्तनसँगै ठूला मिडियाहरू संकटमा परेका र जसले राम्रो विषयवस्तु दिन्छन् तिनै मिडिया प्रसिद्ध हुने अवस्था रहेको उहाँले बताउनुभयो । ठूला मिडियामा पनि गुणस्तरीय विषयवस्तु जान छोडेको उहाँको भनाइ छ । अहिलेको परिस्थितिमा त्रिभुवन विश्वविद्यालयले उत्पादन गरेको जनशक्तिले नै पत्रकारिता क्षेत्रको जनशक्ति धानिरहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले मिडिया क्षेत्रका लगानीको स्रोत राज्यले खोज्नुपर्ने बताउनुभयो । मिडिया हाउसले केही वर्षको खर्च, जनशक्तिको स्रोत राज्यले खोज्नुपर्ने र निश्चित समयसम्म पारिश्रमिक दिनसक्ने प्रत्याभूति हुनुपर्ने बताउनुभयो ।

महासचिव पुरीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएका कुराहरू नियमन गर्ने नाममा नियन्त्रण गर्न खोजिए पत्रकार महासंघले विरोध जनाउने उल्लेख गर्नुभयो । यद्यपि, राम्रो नियतले गरिएको नियमनको भने महासंघले विरोध नगर्ने उहाँले बताउनुभयो ।