‘प्रचण्ड’ नातिनी स्मिताको पहिलो हिन्दी गीत।

काठमाडौं:= नेपाली गीतसंगीतका कुनै पनि कलाकारले बाहिरी देशका गीत गाउनुलाई ठूलो सफलता मानिन्छ । विशेषतः नेपाली बजारभन्दा बाहिरी देशको गीतसंगीतको बजार ठूलो भएकाले पनि जोकोही गायक तथा गायिकाको त्यो इच्छा रहन्छ । त्यसमाथि हिन्दी गीतको बजार विश्वमा निकै ठूलो पनि छ ।

यस्तैक्रममा पूर्वप्रधानमन्त्री तथा नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालले पनि हिन्दी गीतको क्षेत्रमा प्रवेश गर्नुभएको छ । स्मिताले गाएको ‘इबादत बन गए हो’ बोलको हिन्दी गीतको अफिसियल भिडियोसमेत सार्वजनिक गरिएको छ । जुन भिडियोमा स्मिता आफैंले अभिनय गर्नुभएको छ । नेपालमा स्मिताले गाएका थुप्रै गीत लोकप्रिय छन् । नेपाली गीतसंगीतमा करिअर बनाउने सुरुवातको समयमा प्रचण्ड नातिनी भनेर चिनिए तापनि अहिले स्मिताले आफ्नो छुट्टै पहिचान बनाइसक्नुभएको छ ।

स्मिताले अहिले गाएको हिन्दी गीत भारतको प्रतिष्ठित कम्पनी टि–सिरिजको ‘पप चार्टबस्टर्स’ नामक युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । गायनमा उहाँलाई ‘जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगी’ जस्ता चर्चित गीतका गायक शबाब सबरीले साथ दिनुभएको छ ।

रोमान्टिक थिमको गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्दरचना रहेको छ । गीतको भिडियोमा गायिका स्मिता आफैं फिचर्ड हुनुहुन्छ भने उहाँको जोडी भारतीय टेलिभिजनका चर्चित कलाकार अर्जुन बिज्लानीसँग बाँधिएको छ । गीतले उहाँहरूको एकअर्काप्रति प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्छ । भिडियोमा यो जोडीको केमेस्ट्री निकै सुहाएको देखिन्छ ।

भिडियोलाई राजीव एस. रुयाले निर्देशन गर्नुभएको हो । उहाँले अहिलेसम्म २०० भन्दा बढी भारतीय गीतको भिडियो निर्देशन गरिसक्नुभएको छ । उहाँले ‘इबादत’ गीतको भिडियोलाई निकै आकर्षक बनाउनुभएको छ । करिब ४ मिनेटको भिडियोमा मेकिङ उच्च देखिन्छ ।  गीतको भिडियोलाई पुनम यादवले निर्माण गर्नुभएको हो ।  उहाँ नेपाली हुनुहुन्छ ।

गीतको भिडियोमा भारतको देहरादुनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ । जेस्टिन क्रियटिभ स्पार्कको ब्यानरमा बनेको भिडियोको कार्यकारी निर्मातामा सुप्रिया पुल इन्डियन हुनुहुन्छ । निर्मात्री यादवले गीतमा निकै मोटो रकम खर्च भएको बताउनुभएको छ । गीतको अडियो र भिडियो पक्ष अत्यन्त बलियो भएकाले दर्शकलाई मन पर्ने उहाँको विश्वास छ । उहाँ अब नेपाली गीत पनि निर्माण गर्ने सोचमा हुनुहुन्छ ।

नेपाली राजनीतिमा समेत सक्रिय रहनुभएकी निर्मात्री यादवले भन्नुभएको छ, ‘नेपालका प्रतिभावान कलाकारलाई विश्वमाझ चिनाउनका लागि म मनोरञ्जन क्षेत्रमा आएकी हुँ । मैले पहिलो गीत नै हिन्दी बनाउनुको उद्देश्य पनि यही हो । अब म निरन्तर गीत निर्माण गर्नेछु र नेपाली कलाकारलाई अवसर दिनेछु ।’ उहाँ चाँडै नेपाली चलचित्र निर्माण गर्ने तयारीमा समेत रहनुभएको छ ।

नेपाली संगीत क्षेत्र र चलचित्र क्षेत्रमा मधेसी समुदायको उपस्थिति उत्साहजनक छैन । झन् महिलाको सहभागिता त शून्यझैं छ । निर्मात्री पुनम यादवले मधेसी समुदायका महिलाहरूलाई ऊर्जा र हौसला दिन पनि आफू मनोरञ्जन क्षेत्रमा आएको बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘मधेसी समुदायका महिला अझै पछि परेका छन् । आफूभित्रको प्रतिभालाई बाहिर ल्याउन सकेका छैनन् । अब उनीहरू पनि अगाडि आउनुपर्छ भनेर हौसला दिनका लागि पनि मैले गीत निर्माण गरेकी हुँ ।’