अर्जेन्टिनाको सहज जित।

लन्डन:= अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा भेनेजुएलालाई पराजित गरेको छ । फरवार्ड लोउटारो मार्टिनेजले एक गोल र अर्काे गोलका लागि असिस्ट गरेपछि अर्जेन्टिनाले १० खेलाडीमा समेटिएको भेनेजुएलामाथि ३–१ को सहज हात पारेको हो । अर्जेन्टिनाको जितमा लोउटारो मार्टिनेज, जोआक्विन कोरेआ र एन्जल कोरेआले समान एक गोल गर्नुभयो । घरेलु टोलीका यफेर्सन सोटेल्डोले एक गोल फर्काउनुभयो ।

लियोनल मेस्सीमाथि फउल गरेपछि २५औं मिनेटमा जोश भेलाक्वेजको स्थानमा मैदान छिर्नुभएका लुइस मार्टिनेज ३२औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भेनेजुएला १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा अर्जेन्टिनाले उठायो ।

पहिलो हाफको इन्ज्युरी समयमा थप गरिएको दोस्रो मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १-० को अग्रता दिलाउनुभयो । ७१औं मिनेटमा सब्सिच्युट जोआक्विन कोरेआले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पार्नुभयो । ७४औं मिनेटमा अर्का सब्सिच्युट खेलाडी एन्जल कोरेआले गोल गर्दै अर्जेन्टिनालाई ३-० ले अघि बढाउँदै जित सुनिश्चित गर्नुभयो ।

९०औं मिनेटमा यफेर्सन सोटेल्डोले पेनाल्टीमार्फत् एक गोल फर्काए पनि टोलीको हार टार्न सक्नुभएन । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको यो चौथो जित हो । अर्जेन्टिना सात खेलबाट चार जित र तीन बराबरीका साथ १५ अंक जोडेर दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा रहेको छ । ब्राजिल शीर्षस्थानमा रहेको छ । पराजित भेनेजुएला चार अंक जोडेर पुछारमा रहेको छ ।

स्पेन स्तब्ध

यता स्पेन घरेलु टोली स्विडेनसँग एक गोलको अग्रता जोगाउन नसक्दा स्विडेनसँग २-१ ले स्तब्ध बन्यो । स्पेनलाई स्तब्ध पार्न एलेक्सान्डर इसाक र भिक्टर क्लाइसनले गोल गर्नुभयो । स्पेनका लागि कार्लाेस सोलेरको सान्त्वना गोल गर्नुभएको थियो । खेलको पाचौं मिनेटमा कार्लाेस सोलेरको गोलमा स्पेनले अग्रता लियो । त्यसको एक मिनेटपछि नै एलेक्सान्डर इसाकले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । ५७औं मिनेटमा भिक्टर क्लाइसनले गोल गर्दै घरेलु टोलीलाई २-१ को जित दिलाउनुभयो ।

स्पेनले विश्वकप छनोटमा सन् १९९३ पछि हार बेहोरेको हो । स्पेनमाथिको जितसँगै स्विडेन समूह ‘बी’ मा अपराजित रहँदै शीर्षस्थानमा उक्लिएको छ । स्विडेनको तीन खेलबाट नौ अंक पुगेको छ । पराजित स्पेनको चार खेलबाट सात अंक छ ।

यही समूहको अर्काे खेलमा कोसोभोले विश्वकप छनोटमा पहिलो जित दर्ता गर्दा जर्जियालाई १-० ले पराजित गरेको छ । कोसोभोको जितमा भेडाट मुरिक्युको गोल निर्णायक बन्यो । यो जितसँगै कोसोभोले तीन खेलबाट तीन अंक जोडेको छ । पराजित जर्जिया एक अंकसहित पुछारमा छ । ग्रिस दुई अंक जोडेर चौथो स्थानमा रहेको छ ।