पुनर्निर्माणका लागि चार सय २० करोड अनुदान सम्झौता।

काठमाडौं:= भारत सरकारको नेपाली रुपैयाँ चार सय २० करोड अनुदान सहयोगमा १४ सांस्कृतिक सम्पदा परियोजना र एक सय तीनवटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङमा १४ सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रेमा एक सय तीन स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंसल र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक श्यामकिशोर सिंहको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

भूकम्पबाट क्षति पुगेका उक्त परियोजना चार सय २० करोड अनुदान सहयोगमा पुनर्निर्माण गरिनेछ । दुवै स्वास्थ्य तथा सांस्कृतिक सम्पदा परियोजनाको कार्यान्वयन निकाय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) रहेको छ । उक्त कार्यक्रममा भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारी तथा भारत सरकारको परियोजना परामर्शदाता इन्ट्याच र सीबीआरआईका प्रतिनिधिको सहभागिता रहेको बताइएको छ।

शिक्षा, सांस्कृतिक सम्पदा, स्वास्थ्य क्षेत्रका लागि ५० मिलियन अमेरिकी डलर र आवास क्षेत्रका लागि एक सय मिलियन अमेरिकी डलरका दरले भारतले भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत कुल दुई सय ५० मिलियन अमेरिकी डलर विनियोजन गरेको छ । भारतको अनुदान सहयोगमा सात जिल्लामा ७१ शैक्षिक परियोजना तथा २८ सांस्कृतिक सम्पदा परियोजनाको निर्माण भइरहेको छ । त्यस्तै नेपालका १० जिल्लामा एक सय ४७ स्वास्थ्य सुविधा र गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरको निर्माण भइरहेको छ ।