चीनले भन्यो- ‘नेपालसँग कुनै सीमा विवाद छैन, केही व्यक्तिले उछाल्ने काम गरे’

एजेन्सी := चीनले नेपालसँगको सीमालाई लिएर कुनै विवाद नरहेको बताएको छ । काठमाडौं स्थित चिनियाँ दूतावासका प्रवक्ताले आज साँझ विज्ञप्ति जारी गर्दै सरकारले भने जस्तो सीमा अतिक्रमण नभएको बताएका हुन् । ‘सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भैसकेको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद छैन ।’

चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेर सीमाका मुद्दा लगायत दुई मुलुकबीचको साझेदारीलाई थप बलियो तुल्याउन चाहेको समेत जनाएको छ । केही व्यक्तिले यसअघि पनि नेपाल र चीन बीच कथित सीमा विवादको निम्त्याउने प्रयास गरेको जनाउँदै चीनले यसबारे परराष्ट्र मन्त्रालयले त्यतिबेला जारी गरेको प्रष्टीकरणलाई बुझ्न समेत ध्यानाकर्षण गराएको छ ।

दुई मुलुकबीचको विकास तथा सहायताका लागि नेपालसँग मिलेर हिमालय सीमापार बहुआयामिक सम्पर्क संजाल निर्माण गर्न चाहेको पनि चीनले उल्लेख गरेको छ । हुम्लासँग सीमा जोडिएको तिब्बतको सिजाङबाट नेपालतर्फ भूकम्प, बाढीपहिरो र महामारी जस्ता विपद्मा मानवीय सहायता प्रदान गरिराखिएको समेत चीनले जनाएको छ । केही वर्षदेखि चीन र नेपालले सक्रियता पूर्वक सीमा व्यवस्थापन, बन्दरगाह निर्माण, सीमापार सहायता आदानप्रदान गरेको जनाउँदै चीनले दुई मुलुकका नागरिकलाई यसबाट फाइदा मिलेको समेत जनाएको छ ।