हल खुले पनि छैनन् फिल्म।

काठमाडौं:= कोरोना कहरका कारण चलचित्र हल निकै लामो समयसम्म ठप्प छन् । झण्डै दुई वर्षसम्म अर्बौंको नोक्सानी व्यहोरेको नेपाली चलचित्र क्षेत्र अझै चलायमान हुन सकेको छैन। विशेषगरी चलचित्र छायांकन र प्रदर्शन हुने माहोल छैन । अहिले पनि दिनहुँ कोरोना संक्रमणदर घट्न सकेको छैन ।

त्यसैले दर्शन हलसम्म आउने सम्भावना छैन । तर बजारहरूमा मानिसहरूको चहलपहल बढ्दै जानथालेपछि प्रशासनले भने चलचित्र हल खोल्ने अनुमति दिएको छ । चलचित्र वितरण तथा प्रदर्शन गर्न अनुमति दिए पनि हलमा चलचित्र भने प्रदर्शन हुन सकेका छैनन । विशेषगरी हल खोल्ने पूर्वजानकारी वितरक, प्रदर्शक तथा निर्मातालाई नहुँदा रिलिजका लागि चलचित्र नभएका हुन् । तर पूर्वजानकारी भए पनि ठूला चलचित्र प्रदर्शनमा आउने छाटकाट देखिँदैन । दर्शकको संख्या हलसम्म कत्तिको जान्छ त्यसको आँकलन नगरी ठूला लगानीमा बनेका चलचित्र प्रदर्शन हुने देखिँदैन ।

नेपाली चलचित्र अहिलेका लागी प्रदर्शनमा नहुने भए पनि हिन्दी र अंग्रेजी चलचित्र भने केही दिनमा प्रदर्शनमा आउने वितरकहरूको भनाइ छ । काठमाडौं उपत्यकामा बिहीबारबाट चलचित्र हल खोल्ने दिने काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निर्णय गरेको थियो । शतप्रतिशत सिट क्षमतामा सिनेमा हल खुल्ने भएका छन् ।

यसपटक भने कोरोना अगाडि नै रिलिज डेट लिएर प्रचारप्रसार गरिसकेका करिब आधा दर्जन चलचित्रलाई १२ देखि १५ लाख रुपैयाँ दिने तयारी चलचित्र विकास बोर्डले गरिरहेको स्रोतको भनाइ छ । बोर्डका अनुसार ६४ वटा चलचित्र रिलिजको पर्खाइमा छन् । कोरोनाको संक्रमण अगाडि १९३ वटा सिनेमा हल रहेकोमा यसमध्ये २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।