युनाइटेडमा रोनाल्डोको दुईवर्षे सम्झौता।

एजेन्सी := इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेको छ । मंगलबार युनाइटेडले युभेन्ट्सका ३६ वर्षीय फरवार्ड रोनाल्डोलाई अनुबन्ध गरेको हो । सम्झौता दुई वर्षको रहेको युनाइटेडले जनाएको छ ।

पाँचपटकको बालोन डी ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किनुभएको हो । सन् २००३ मा रोनाल्डो स्पोर्टिङ लिस्बनबाट ओल्ड ट्राफोर्ड आउनुभएको थियो । त्यसपछि उहाँले सन् २००९ सम्म खेल्दै १९६ खेलमा ८४ गोल गर्नुभयो । सन् २००९ मा रोनाल्डो स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडमा अनुबन्ध हुनुभयो ।

रियलमा ९ सिजन बिताउनुभएका रोनाल्डोले २९२ खेलमा ३११ गोल गर्नुभएको थियो । उहाँले रियलबाट लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधिसमेत जित्नुभएको थियो । उहाँ सन् २०१८ मा युभेन्ट्समा अनुबन्ध हुनुभएको थियो । सिरी ए मा युभेन्ट्ससँग एक वर्षको सम्झौता बाँकी रहँदै रोनाल्डो पूर्वक्लब युनाइटेड फर्किनुभएको हो ।