नेपाल र भारत आज भिड्दै, भारतविरुद्ध जित्ने लक्ष्य।

काठमाडौं:= नेपाल र भारतबीच आज (बिहीबार) पहिलो मैत्रीपूर्ण खेल हुनेछ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको दुवै खेल कठिन हुने तर आफूहरूको उद्देश्य खेल जित्ने रहेको बताउनुभयो ।

बुधबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले भन्नुभयो, ‘भारतसँग खेल कठिन हुनेछ । किनकि भारतसँगको खेल मैले जति खेलें कहिल्यै जितेको छैन । घरेलु मैदानमा खेल्न गइरहेका छौँ तर पक्कै पनि भोलिको खेल कठिन हुनेछ । तयारी राम्रो छ । लय राम्रो छ । घरेलु मैदानमा खेल्न पाउनु राम्रो हो । यो अवसर हो । यस खेलले टिमलाई सहयोग गर्छ ।’

यस्तै कप्तान किरणले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आगमनले टिम मानसिकरूपमा बलियो भएको बताउनुभयो । ‘अलमुताइरीसँग अभ्यास गरेको ६-७ महिना भयो । टिम बलियो भएको छ । अलमुताइरीले मानसिकरूपमा बलियो बनाएका छन् । पहिले शारीरिकरूपमा बलियो थियौं । अहिले दुवैमा बलियो छौं,’ उहाँले भन्नुभयो ।

यस्तै नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्ध जित्नकै लागि खेल्ने बताउनुभयो । ‘भारत धेरै बलियो छ । इतिहास राम्रो छ । दुवै खेल जित्न आवश्यक छ । राष्ट्रिय टिमले खुसी मनाउने हैन, गर्व गर्नलायक बनाउन आवश्यक छ,’ प्रि–म्याच कन्फरेन्समा अलमुताइरीले भन्नुभयो, ‘हामी बराबरीका लागि खेल्ने छैनौं । हामी जित्नका लागि खेल्छौं ।’

प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध भविष्य हेरेर प्रतिस्पर्धा गर्ने बताउनुभयो । बरियताले टिमलाई असर नगर्नेसमेत उहाँले बताउनुभयो । ‘इतिहास हैन, भविष्यलाई हेरेर खेल्नेछौं । इतिहास र बरियताले असर गर्ने छैन । उनीहरू बलिया छन् तर हामी सच्चा गोर्खाली हौं,’ उहाँले भन्नुभयो ।

पाँच वर्षपछि भारतीय टोलीले नेपाल आएर खेल्न लागेको हो । नेपालले अन्तिमपटक घरेलु मैदानमा भारतसँग सन् २०१५ मार्च १७ मा खेलेको थियो । फिफा विश्वकप छनोटका लागि भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

हालसम्म नेपाल र भारतबीच १९ पटक भेट भएको छ । जसमा भारतले आफ्नो दबदबा कायम गरेको छ । हालसम्म भारतले १३ खेल जित्दा नेपालले दुई खेलमात्रै जितेको छ । चार खेलमा बराबरी भएको छ । भारतले ३३ गोल गर्दा नेपालले नौ गोलमात्रै गरेको छ ।

भारतका कप्तान सुनिल क्षेत्रीले नेपालसँगको खेल सधंै कठिन हुने बताउनुभयो । तर, आफूहरूले सक्दो राम्रो गर्ने बताउनुभयो । ‘हाम्रा लागि खेल सधैं कठिन हुन्छ । हामी उत्कृष्ट दिनेछौं । हामीलाई निमन्त्रणा गर्नुभएकोमा धेरै धन्यवाद,’ उहाँले भन्नुभयो ।

मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबलको ३७ सदस्यीय टोली यसअघि नै नेपाल आइसकेको छ । भारतको २५ खेलाडी तथा १२ अफिसियलसहितको टोली छ ।

भारतीय टोलीमा गोलरक्षकमा गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोईरङथेम र अम्रिन्दर सिंह, डिफेन्डरमा राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव दसाई, शुभाशिष बोस र सेरिटन फर्नान्डेज हुनुहुन्छ ।

यस्तै मिडफिल्डरमा अनिरुद्ध थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेस सिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया र विपिन सिंह र स्ट्राइकरमा मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री, फरुख चौधरी रहनुभएको छ । नेपाली टोलीमा किरण चेम्जोङसहित विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरजजिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ र आशिष लामा हुनुहुन्छ ।

दुवै टोलीले आगामी साफ च्याम्पियनसिपको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । साफ अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुनेछ ।

दर्शकले प्रवेश पाउने

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले रंगशाला पुगेर हेर्न पाउने भएका छन् । नेपाल सरकारले दुई देशबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दर्शक प्रवेशलाई स्वीकृत दिएसँगै यसको तयारी थालिएको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच हजार एक सय दर्शकले रंगशाला पुगेर खेल हेर्न सक्नेछन् । तर, दर्शकले कोरोनाविरुद्धको दुवै डोज खोप भने लगाएको हुनुपर्नेछ । यस्तै पीसीआर रिपोर्ट भएका दर्शकलाई पनि मैदान छिर्न दिने एन्फाले बताएको छ ।