काठमाडौं := भोली बिहिवार र आइतवार काठमाडौंको दशरथ रंगशालामा आयोजना हुन लागेको नेपाल भर्सेस भारतको मैत्रीपुर्ण फुटबल खेल दर्शकले रंगशाला भित्र गएर हेर्न पाउने भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दर्शकलाई स्वास्थ्य मापदण्ड पुरा गरेर खेल हेर्न दिन अनुमति दिएको हो। ५ हजार १ सय दर्शकलाई दशरथ रंगशालामा हेर्न जाने प्रशासनले अनुमति दिएको नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए।
यसरी दशरथ रंगशाला खेल हेर्न जाने दर्शकले अनिवार्य रुपमा कोरोनाको पीसीआर परिक्षण अथवा कोरोना विरुद्धको पूर्ण खोप दुबै डोज लगाइसकेको हुनुपर्नेछ।
काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी राखेको छ। यो समयमा २५ जनाभन्दा बढी भेला हुन, सभा समारोह नगर्न अपिल गरिएको छ। कोभिड १९ महामारीका कारण पछिल्लो समय खेलहरू बन्द रङ्गशालामै दर्शक बिनानै सम्पन्न भएका थिए।




















