[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसियामा सुरक्षागार्डको क्षेत्रमा आवद्ध रहि काम गर्दै आएका एक नेपाली श्रमिकको कोरोना भाइरसको संक्रमणले आज बिहान मृत्यु भएको छ।
बिगत ४ बर्षदेखि वैधानिक हैसियतमै रहि मलेसियाको “युनाइटेड सेक्युरिटी सर्भिस एसडिएन बिएचडी” नामक सेक्युरिटी कम्पनीसंग आवद्ध रहि जोहोरबारुमा सुरक्षागार्डको रुपमा काम गर्दै आएका नेपाल ठेगाना ताप्लेजुङ जिल्ला घर भएका र पासपोर्ट नम्बर १०२७७८९० नम्बर रहेका ३३ बर्षिय टेक बहादुर खवासको आज आईतवार बिहान कोरोना संक्रमणको कारण मृत्यु भएको हो।
सोहि कम्पनीमा कार्यरत नेपाली श्रमिक हरि कुमार क्ष्रेष्ठले जानकारी दिए अनुसार हिजो शनिबार राती अन्य ६,७ जना कोरोना संक्रमित साथीहरुसंगै होम क्वारेन्टाइनमा बसिरहेको बेला रातीको खानपिन गरेर सुतेका टेक बहादुर खवास बिहान मृत् अवस्थामा फेला परेका थिए।
यस् बिषयमा मलेसिया स्थित नेपाली राजदूतावाससंग बुझ्दा दूतावासका जनसम्पर्क अधिकृत टेक बहादुर बुढाले बताए अनुसार मृतक काम गर्ने सेक्युरिटी कम्पनीको निर्देशक मिस्टर लादेनसंग आज आईतवार बिहानै मृतकको बारे आवश्यक कुराकानी भैइसकेको र शवलाई पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा लगिएको बताउनुभयो।
अधिकृत बुढाका अनुसार मृतकसंगै होम क्वारेन्टाइनमा बसेका अन्य सबै संक्रमितको आजै पुनः कोरोना पिसिआर चेकजाँच गराउन र कोरोनाले अवस्था जटिल भएको श्रमिकलाई तुरुन्त अस्पताल भर्ना गर्न कम्पनीको निर्देशक लेदानलाई निर्देशन दिइसकिएको बताउनुभयो।
मृतकको शवको आवश्यक प्रक्रिया पुर्याएर यदि कोरोनालेनै उहाँको मृत्यु भएको ठहरिएमा उहाँको परिवारको अनुमति लिएर मृतकको दाहसंस्कार , अन्त्यष्टि यतै मलेसियामै गरिने साथै मृतकको परिवारको लागि सक्दो क्षेतिपुर्तीको लागि पनि कम्पनीसंग पहल गरिने अधिकृत बुढाले बताउनुभयो।




















