राष्ट्रपति महिला उत्थान कार्यक्रम पहाडी जिल्लामा प्रभावकारी बन्दै।

अछाम:= महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’अन्तर्गत अछामका ११ जना महिलाको निःशुल्क हवाई उद्धार गरिएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिअनुसार उनीहरूको उद्धार गरिएको हो ।

आर्थिक वर्ष २०७५/०७६ देखि जिल्लामा सुरुवात भएको यस कार्यक्रमअन्तर्गत यही भदौ ६ गते एकैदिन दुई जना गर्भवती महिलाको हवाई उद्धार गरिएसँगै हालसम्म ११ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

प्रशासनका अनुसार २०७६ भदौ २९ गते कमलबजार नगरपालिका-१ का इन्द्रा बिकको हवाई उद्धार गरिएको छ । यस्तै, २०७६ चैत २३ गते कमलबजार नगरपालिका-५ का बेलादेवी भण्डारी, २०७७ वैशाख २७ गते रामारोशन गाउँपालिका-६ का देउमा साउदको हवाई उद्धार गरिएको प्रशासनले जनाएको छ ।

यस्तै, २०७७ ज्येष्ठ ३ गते तुर्माखाँद गाउँपालिका-४ का तुलसी वड, २०७७ असार १० गते तुर्माखाँद गाउँपालिका-३ का मनीषा उखेडाको पनि हवाई उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार २०७७ असार २९ गते पञ्चदेवल विनायक नगरपालिका-८ का रमिता विक, २०७७ भदौ ३ गते रामारोशन गाउँपालिका-७ का सुरा भण्डारीको पनि हवाई उद्धार गरिएको हो ।

यसैबीच २०७७ असोज ३० गते पञ्चदेवल विनायक नगरपालिका-८ का कोपिला विक र २०७७ चैत ११ गते तुर्माखाँद गाउँपालिका-५ का चन्द्रा शाहीको हवाई उद्धार गरिएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्धबहादुर मल्ले जानकारी दिनुभयो । यस्तै, २०७८ भदौ ६ गते आइबतार एकैदिन दुई गर्भवती महिलाको उद्धार गरिएको छ ।

साँफेबगर नगरपालिकाका २४ वर्षीया महिला र चौरपाटी गाउँपालिका-५ का २६ वर्षीया गर्भवती महिलाको हवाई उद्धार गरिएको प्रशासनले जनाएको छ । निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम लागू भएपछि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुले अकालमै ज्यान गुमाउनु नपरेको अछामका प्रमुख जिल्ला अधिकारी रुद्धबहादुर मल्लले बताउनुभयो ।