काठमाडौं:= नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो पदबाट राजीनामा दिने संकेत गर्नुभएको छ । प्रशिक्षक अलमुताइरीको राजीनामा प्रकरणपछि उब्जिएको विवाद छानबिन समितिले प्रतिवेदन बुझाएलगत्तै सामाजिक सञ्जालमार्फत् अलमुताइरीले राजीनामा दिने उल्लेख गर्नुभएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखे नेतृत्वको समितिले राखेप सदस्य–सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो । ११ बुँदे प्रतिवेदनमा प्रशिक्षक अब्दुल्लाहले आफ्नो बानीलाई सुधार्नुपर्ने ठहर गरेको थियो । प्रशिक्षक अब्दुल्लाहले व्यावसायिक आचरण र व्यक्तिगत व्यवहारमा सुधार गर्नुपर्ने र खेलाडीलाई गुणस्तरीय प्रशिक्षण दिनुपर्ने कुरा उल्लेख गरिएको छ ।
प्रतिवेदन सार्वजनिक भएको केही समयमा नै अब्दुल्लाहले सामाजिक सञ्जालमा ‘आइएम आउट, लेट्स पोलिटिक्स वर्क’ भनेर लेख्नुभएको थियो । यसको अर्थ ‘म बाहिरिएँ, राजनीति गर्नेलाई गर्न देऊ’ हुन्छ ।
यतिबेला प्रशिक्षक अब्दुल्लाहले नेपाली टिमलाई पोखरामा प्रशिक्षण दिइरहनुभएको छ । २५ सदस्यीय टोली साफ च्याम्पियनसिप र आगामी १७ र २० गते भारतसँग हुने मैत्रीपूर्ण खेलको तयारीमा छ ।
यसअघि गत साउन १० गते मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफूलाई तनाव दिइरहेकाले राजीनामा दिने घोषणा गर्नुभएको थियो । लगत्तै आरोपित नेम्वाङले पत्रकार सम्मेलन गर्दै आफूविरुद्ध षड्यन्त्र भएको र दोषी ठहरिए पदबाट राजीनामा दिने बताउनुभएको थियो ।
त्यसपछि एन्फाले विवाद समाधानका लागि खेलकुद मन्त्रालयलाई डाकेको हो । मन्त्रालयले राखेपलाई छानबिन समिति निर्माण गर्न अनुरोध गरेको थियो । समितिले बुधबार बुझाएको प्रतिवेदनमा फुटबलमा विवाद सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अलमुताइरीलाई सचेत गराउनुपर्ने उल्लेख छ ।
समितिले मुख्य प्रशिक्षक अलमुताइरीलाई अखिल नेपाल फुटबल (संघ) एन्फासित भएको सम्झौताअनुसार नै गतिविधि गर्न सुझाव दिएको छ । विवाद सिर्जना हुने कुनै किसिमको गतिविधि नगर्न अलमुताइरीलाई सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ । एन्फाका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षकलगायतलाई आफ्नो पदीय मर्यादालाई ध्यानमा राखेर कार्य गर्न समितिले निर्देश गरेको छ । खेलकुद क्षेत्रलाई धूमपान र मद्यपान निषेधित क्षेत्र बनाउनुपर्नेमा उक्त प्रतिवेदनमा जोड दिइएको छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कोही कसैलाई लक्षित गरेर धारणा राख्न अलमुताइरीलाई रोक्नुपर्ने सो प्रतिवेदनमा उल्लेख छ । अलमुताइरीले राजीनामासम्बन्धी आफ्नो विवादास्पद धारणा फेसबुकमार्फत् सार्वजनिक गरेकामा त्यसलाई अबिलम्ब हटाउन समितिले राखेपलाई सुझाव दिएको छ ।
राखेप सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा रहेको सात सदस्यीय छानबिन समितिमा सदस्य रेनुका श्रेष्ठ, सुवर्णकेशरी श्रेष्ठ र चन्द्रवन्दना राई, राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, राखेप कानुन शाखा प्रमुख नारायणराज अर्याल र राखेप संघसंस्था समन्वय शाखा प्रमुख सरोजकुमार पोखरेल सदस्य रहनुभएको थियो ।
समितिले सो क्रममा १४ जनासँग बयान लिएको थियो । प्रतिवेदनमा समितिले एन्फालाई १५ दिनभित्र आचारसंहिता बनाई राखेपबाट स्वीकृत गराई लागू गर्न सुझाव दिएको छ । आगामी दिनमा एन्फामा कुनै समस्या वा विवाद सिर्जना भए आफैं समाधान गर्ने तथा नसके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तक्षेप नगराई राखेपलाई अनुरोध गर्न पनि सुझाव दिइएको छ । कुवेती नागरिक अलमुताइरी २०७७ चैतमा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको हो ।


















