काठमाडौं := कोरोना माहामारीले विश्वभर भयावह अवस्था रहेको छ। माहामारीले नेपालीहरुको लागि विदेशी श्रम बजार पनि बन्द छ। कतिपय श्रम गन्तब्य मुलुकले वैदेशिक रोजगारीको बाटो खुल्ला गरेतापनि नेपालीहरुनै वैदेशिक रोजगारीमा जाने घटेको तथ्यांकले देखाउछ।
आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६२ दशमलव ८ प्रतिशतले घटेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि गएकाे वर्ष ४६ दशमलव ८ प्रतिशतले घटेको छ ।
कोरोना माहामारीको बावजूत पनि गएको आर्थिक वर्षमा नेपाल भित्रिने विप्रेषण रकम ( विदेशी रेमिट्यान्स) ९ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार गएकाे वर्ष ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ।
कोरोना महामारीका कारण विदेशमा धेरै नेपालीको रोजगारी गुम्ने र उनीहरूले पठाउने रेमिट्यान्स घट्ने अनुमानका बीच पनि ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अमेरिकी डलरमा पनि रेमिट्यान्स ८ दशमलव २ प्रतिशतले बढेर ८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।



















