सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने, १० बुँदे कार्यान्वयन गर्न फेरि कार्यदल।

काठमाडौं:= प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अदालत जाने भएको छ । बिहीबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले आफ्ना १४ जना सांसदलाई विधान र कानुनबमोजिम गरिएको कारबाही अघि नबढाएको भन्दै एमालेले सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको हो ।

बैठकले पार्टीको कारबाहीमा परेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध पनि अदालत जाने निर्णय गरेको छ । माधवकुमार नेपालसहित १४ जनालाई सांसद पदबाट निलम्बन गरेको सूचना एमालेले १ भदौमा संघीय संसद् सचिवालयलाई जानकारी गराएको थियो । तर, सचिवालयले त्यसको सूचना जारी नगरेपछि एमाले सभामुखविरुद्ध अदालत जाने भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।

कारबाहीमा परेका नेपालसहितका नेताहरूको सनाखत लिएर नेकपा एकीकृत समाजवादी दल दर्ता गरेको भन्दै आयोगविरुद्ध पनि अदालत जाने एमालेले निर्णय गरेको हो । बिहीबारको बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरूको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णयसमेत गरेको छ ।

यसैगरी, पार्टी १०औँ महाधिवेशनको मिति सार्ने पनि निर्णय गरेको बैठकले १० बुँदे प्रस्तावलाई शीघ्र कार्यान्वयनमा लैजाने निर्णय गरेको छ  । कार्यान्वयन सहजीकरणका लागि महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको छ ।

केही व्यक्तिको स्वार्थका कारण पार्टी फुट्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिको स्वार्थका कारण पार्टी फुटेको बताउनुभएको छ । बिहीबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी फुटेको बताउनुभयो । आन्दोलन हाँक्ने अभिभारा, काँधको जिम्मेवारी र जनतासामु गरिएका प्रतिबद्धताहरू भुलेर पार्टी फुटाइएको उहाँको आरोप छ ।

‘हिजोसम्म हामीसँगै रहेका केही मित्रहरू आन्दोलनको बाटो छाडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छाडेर, आन्दोलनको अभिभारा बिर्सिएर, आफ्ना काँधका जिम्मेवारीहरू बिर्सिएर, आफूले हिजो जनताका अगाडि जनाएका प्रतिबद्धताहरू बिर्सिएर, आफूले लिएका शपथहरू बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर भावावेशमा, अकारण, सैद्धान्तिक मतभेद भएर होइन, कसैले लखेटेर बस्न नसकेर होइन, सामान्य अवस्थामा पनि पार्टी चलिरहेको बेला, अगाडि बढिरहेको बेला स्वार्थवश, केहीका स्वार्थमा, केहीका अहंकारमा, केहीको ईष्र्यावश एउटा नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभएछ,’ उहाँले भन्नुभयो । एमालेलाई केन्द्र, प्रदेश र जिल्लादेखि स्थानीय तहसम्म कमजोर पार्न लागिएको आरोप लगाउँदै उहाँले आफूहरू हिँडेको बाटो गलत नभएको जिकिर गर्नुभयो ।