प्रदेश १ को मुख्यमन्त्रीमा आचार्य, पार्टी विभाजनबाट जोगाउन मुख्यमन्त्री राईबाट राजीनामा।

झापा:= नेकपा एमाले पार्टीलाई विभाजनबाट जोगाउन अन्ततः प्रदेश १ सरकारको नेतृत्व परिवर्तन भएको छ । लामो समयदेखि नेकपा एमाले पार्टीभित्रको आन्तरिक कलह र वर्तमान सरकारले जारी गरेको पार्टी विभाजनसम्बन्धी अध्यादेशले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल अलग हुनुभएको छ । नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता गरेपछि एमालेभित्र कार्यकर्ताबीच खैलाबैला नै मच्चिएको थियो  ।

नेपाल पक्षका एमाले कार्यकर्तालाई नेकपा (एकीकृत समाजवादी) नजान र एमाले पार्टी नछाड्न ओलीले अपिल नै गरे । ओलीले एमाले पार्टीलाई टुटफुटबाट बचाउन प्रदेश १ सरकारको नेतृत्व परिवर्तन गरेको राजनीतिक विश्लेषकहरू बताउँछन् । ओलीकै रणनीतिबमोजिम नेपालनिकट मानिने भीमप्रसाद आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाएका हुन् ।

मुख्यमन्त्री शेरधन राई, प्रदेश १ का अध्यक्ष देवराज घिमिरे काठमाडौं पुगेर बुधबार राति अबेरसम्म पार्टीका अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो । ओलीसँग गरिएको छलफलपश्चात् आचार्यलाई मुख्यमन्त्री बनाउने योजना अघि सारेको बुझिएको छ । आचार्यलाई मुख्यमन्त्री बनाउन मुख्यमन्त्री राईले पनि प्रस्ताव गर्नुभएको थियो । त्यसको भोलिपल्ट बिहीबार बिहान मुख्यमन्त्री राई र आचार्यसँगै काठमाडौंबाट विराटनगर फर्किनुभयो ।

विराटनगरमा एमाले संसदीय दलको बैठक बस्यो । बैठकले आचार्यलाई सर्वसम्मत रूपमा एमाले संसदीय दलको नेतामा चयन गरे । त्यसपछि मुख्यमन्त्री राईले पदबाट राजीनामा दिनुभयो । उहाँले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई भेटेर आफ्नो राजीनामा बुझाउनुभयो ।

राईले राजीनामा बुझाएको केही समयपश्चात् नै प्रदेश प्रमुख प्यासीले मुख्यमन्त्रीमा आचार्यलाई नियुक्ति गर्दै गोपनीयता शपथ खुवाउनुभयो । शपथ खाएपछि मुख्यमन्त्री आचार्यले बिहीबारदेखि प्रदेश १ को जिम्मेवारी सम्हाल्नुभएको छ । निवर्तमान मुख्यमन्त्री राईले मुख्यमन्त्री आचार्यलाई उहाँकै कार्यकक्षमा गएर पदभार ग्रहण गराउँदै बधाईसहित शुभकामना दिनुभएको थियो ।  संविधानको धारा १६८ (१) अनुसार उहाँ मुख्यमन्त्री बन्नुभएको हो ।  एमालेका सचिवसमेत रहनुभएका आचार्य सुनसरी-१ (ख)बाट २०७४ को निर्वाचनमा २० हजार २११ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसअघि उहाँ संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नम्बर ६ बाट विजयी हुनुभएको थियो । २०१६ वैशाख १४ गते धनकुटामा जन्मनुभएका आचार्य लामो समयदेखि सुनसरीको इनरुवामा स्थायी बसोबास गर्दै आउनुभएको छ ।

सन् १९९५ देखि विद्यार्थी जीवनबाट राजनीति यात्रा सुरु गर्नुभएका आचार्य सन् १९९७ देखि एमाले पार्टीमा सक्रिय हुनुहुन्छ । २०७१ सालमा सुशील कोइराला नेतृत्वको सरकारमा उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्नुभएको थियो । २०७४ मा भएको पार्टीको प्रदेश संसदीय दलको नेतामा उहाँ शेरधन राईसँग दुई मतले पराजय हुनुभएको थियो । नेपालनिकट मानिने आचार्य विगत एक वर्षअघिदेखि पार्टीभित्र देखिएको विवादमा पनि एकताको पक्षमा उभिनुभएको थियो । नेपालले नयाँ पार्टी दर्ता गराए पनि उहाँ एमाले नछाड्ने अडानमा हुनुहुन्थ्यो ।

आचार्य मुख्यमन्त्री बनेकै दिन भाइको निधन 

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यका कान्छो भाइ उहाँकै घरमा बिहीबार बिहान मृत फेला पर्नुभएको छ । प्रदेश १ को मुख्यमन्त्री बन्नु केही घण्टाअघि नै आचार्यले आफ्नो भाइ गुमाउनुभएको हो ।

मुख्यमन्त्री आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य सुतेकै ओछ्यानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले बताउनुभयो । उहाँका भाइ इनरुवा नगरपालिका-३ स्थित बख्खुटोलमा बस्नुहुन्थ्यो । उहाँलाई मधुमेह, उच्च रक्तचाप र डिप्रेसनको पुरानै समस्या रहेको बताइएको छ ।

बिहान अबेरसम्म कोठाको ढोका नखोलेपछि आफन्तजनले परिवारलाई साढे १० बजे खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले ढोका फोडेर शवको मुचुल्का उठाएको थियो । उहाँ सुतेको कोठामा किटनाशक विषादी फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान थालेको एसपी थापाको भनाइ छ । आचार्य मुख्यमन्त्री बन्नु अघिसम्म भाइ मृत भेटिएको खबर पाउनुभएको थिएन ।