[ शुभाकर विश्वकर्मा ]
नेपालगञ्ज:= जुम्लाको चन्दननाथ नगरपालिका-७ मिचाका हरिचन्द्र रावल ६ वर्ष अघि ट्याक्टर दुर्घटनामा पर्नुभयो । गम्भीर घाइते हुनुभयो । उक्त ट्याक्टर दुर्घटनामा पर्दा एकजनाको मृत्यु भयो, दुर्घटनामा रावल गम्भीर घाइते हुनुभएको थियो । उहाँको परिवार अहिले बाँकेको कोहलपुर नगरपालिका-११ सुकुम्बासी बस्तीमा बस्दै आएको छ ।
दुर्घटनापछि प्यारालाइसिसका कारण थलिनुभएका उहाँ विगत चार वर्षयता सुकुम्बासी बस्तीमा बस्दै आउनुभएको छ । जहाँ रावल परिवारलाई साँझ खान मात्रै होइन बास बस्नसमेत समस्या छ । ‘दुर्घटनामा परेपछि श्रीमतीले छोडेर गइन् । उपचार गर्दा गर्दा घर, जग्गा जमिन सबै सकियो । आफ्नो भन्नु कोही नभएपछि यहाँ आएर बसेका छौँ ।’ रावलले भन्नुभयो ।
रावल दुर्घटनामा परेर असहाय भएपछि श्रीमतीले एक वर्षको छोरी छाडेर अर्केसँग विवाह गरेर गएको उहाँ बताउनुहुन्छ । उक्त घरमा असहाय रावलसहित चार वर्षीया छोरी र वृद्ध आमाबुवा बस्दै आउनुभएको छ । ‘लक्का जवानीको उमेर छ । तर, न उठ्न सक्छन् न बस्न । हलचल गर्नसमेत सक्दैनन् । २४ वर्षका भए । तौल ३० किलो पनि छैन ।’ आमा कर्मकला रावल भन्नुहुन्छ, ‘शरीरमै दिसा-पिसाब हुन्छ । मुखमा ¥याल चुहिन्छ । शरीरभरि झिंगा भन्किन्छन् । आफ्नो बलले सिन्कोसमेत भाँच्न सक्दैनन् ।’
सञ्चारकर्मी उक्त बस्तीमा पुग्दा हरिचन्द्र चारपाईमा बसिरहनु भएको थियो । जहाँ उहाँको दैनिकी बित्ने गरेको छ । छेउमा रातो रङको बाल्टी राखिएको छ । उहाँ मुत्रनलीसम्म जोडिएको पाइपमार्फत पिसाब गर्नुहुन्छ । दिसा लाग्दा भने आमाले साथ दिनुहुन्छ । हरिचन्द्र आफ्नै बलले केही पनि गर्न सक्नुहुन्न । प्यारालाइसिसका कारण शरीर नै चल्दैन । बायाँपट्टिको शरीरमा पक्षघात भएको छ । जसका कारण बायाँपट्टिको माथिल्लो शरीरदेखि खुट्टासम्म चल्दैन । जसकारण उहाँलाई उठ्न, बस्नदेखि खान र सुत्नसमेत समस्या छ । ‘दुर्घटनापछि यस्तो भएँ । श्रीमतीले छोडेर गइन् । छोरीको विचल्ली छ । म आफू हिँड्न, बस्न र खानसमेत सक्दिनँ ।’ सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले बिलौना गर्नुभयो, ‘मेरो सेवा गर्ने कोही पनि छैन । अपांग शरीर छ । यस्तो जीवन लिएर बाँच्न चाहन्न । म मर्न चाहन्छु ।’ दुर्घटनापछि उहाँलाई उपचारको लागि परिवारले नेपालसहित भारतको लखनउसम्म पुर्याएको रहेछ ।
आमा कर्मकली सुनाउनुहुन्छ, ‘यसको उपचारको लागि लाखौँ रुपैयाँ खर्च भइसक्यो । घरघडेरी बेचेर उपचार गर्दासमेत निको भएन । यसकै उपचारको लागि पैसा नभएर कंगाल भइसक्यौँ । अहिले सुकुम्बासी भएका छौँ ।’ छोराको उपचारको लागि ३० लाख रुपैयाँ, घर र जग्गा जमिनसमेत बेच्नुपरेको उहाँले बताउनुभयो । तर, छोरा बाँचेपछि अहिले अर्काको ठाउँमा माग्दै दैनिकी चलाउनु परेको उहाँले बताउनुभएको छ । रावल आमा कर्मकलीले अहिले दैनिक मजदुरी गरेर असहाय छोरा र नाबालक नातिनीलाई हेरचाह गर्दै आउनुभएको छ ।




















