अनमोल, पुष्प र सौगात एउटै फिल्ममा।

काठमाडौं:= नेपालमा सुपरस्टारहरू मिलेर बनाएको चलचित्र (फिल्म) निकै कम छन् । अर्थात् धेरै सुपरस्टार एउटै चलचित्रमा काम गरेको खासै पाइँदैन । त्यसको कारण निर्माता पनि हुन सक्छन् र सुपरस्टारबीचको द्वन्द्व हुनसक्छ । प्रायः यी दुई कारणले नेपालमा सुपरस्टारहरू एउटै चलचित्रमा काम गरेको रेकर्ड निकै कम छ ।

यसैबीच अहिले कोरोना महामारीको समयमा नेपाली चलचित्रको छायांकन र प्रदर्शन ठप्प भइरहेको अवस्थामा नयाँ चलचित्र ‘एक्स ९’को भने भित्रभित्रै चर्चा बढ्न थालेको छ, कारण हो निर्माण टिमको कलाकार छनोट । यस चलचित्रको निर्माण टिमले एकपछि अर्को गर्दै कलाकार छनोट गरिरहेको छ । चलचित्रमा युवास्टार अनमोल केसीले काम गर्ने चर्चा चल्दै गर्दा अर्का अभिनेता सौगात मल्ललाई फाइनल गरेको थियो । थप चर्चा चल्दै गर्दा अर्को थप चर्चा बढेको छ । किनभने अर्का युवास्तार पुष्प खड्का पनि यस चलचित्रका लागि अनुबन्ध हुनुभएको छ ।

गतवर्ष नै मौखिक सहमति भए पनि आइतबारमात्र निर्माण टिमले पुष्पसँग औपचारिक कागजी सम्झौता गरेको हो । चलचित्रमा पुष्प एक्सन भूमिकामा प्रस्तुत हुने बताइएको छ । यसका लागि उहाँ केही महिना एक्सनको तालिम लिने तयारीमा हुनुहुन्छ । अब अनमोल, पुष्प र सौगातले एकसाथ अभिनय गर्नुहुनेछ । यस्तै चलचित्रमा अभिनेता राज कटुवालको अभिनय रहनेछ । केही दिनमा निर्माण टिमले अभिनेता अनुपविक्रम शाहीसँग पनि कागजी सम्झौता गर्ने बुझिएको छ । अनुप पनि दर्शकले मन पराएको अभिनेतामा गनिनुहुन्छ ।

आउँदो पुसको तेस्रो सातादेखि क्यानडा, यूरोप र नेपालमा छायांकन हुने भनिएको यो चलचित्रको कथा निर्देशक मुकुन्छ भट्ट र किंग योगीले तयार पार्नुभएको हो । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा प्रियंका थापा एकल अभिनेत्री रहनुहुनेछ । राजिव तामाङ, वीरेन कुँवर, सुवोध भट्ट र गोकुल कुँवर निर्माता रहेको चलचित्रलाई नेटफ्लिक्समा पनि रिलिज गर्ने योजनामा निर्माण टिम छ ।

सिरिजको रूपमा निर्माण हुने ‘एक्स ९’ मा भिलेनको भूमिकाका लागि बलिउड स्टारलाई अभिनय गराउने योजनामा समेत निर्देशक भट्ट रहेको बुझिएको छ । सबैभन्दा पहिला उहाको रोजाइमा अभिनेता सुनिल सेट्टी हुनुहुन्थ्यो तर, सुनिललाई चलचित्रमा खेलाउन महँगो पर्ने भएपछि अर्का अभिनेता सोनु सुदलाई अफर गरिएको बुझ्नमा आएको छ । चलचित्रको लागत ५ करोड छुने अनुमान गरिएको छ ।

निर्माण टिमले चलचित्रको छायांकन अगावै दर्शकमाझ प्रमोशन पूर्णरूपमा गर्ने तयारीमा जुटेको छ । क्रमबद्ध तरिकाले कलाकार छनोट गर्नु मिडियामार्फत एक किसिमको प्रमोशन शैली हो । कलाकार छनोट र निर्माण टिमको ‘स्टाटेजी’ हेर्दा चलचित्र दर्शकको मनमा बस्ने देखिन्छ ।