काठमाडौं:= नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री करिश्मा मानन्धर सदाबहार अभिनेत्रीको रूपमा परिचित हुनुहुन्छ । उमेरले पाँच दशकको नजिक रहनुभएकी करिश्मा अहिले पनि तीन दशक वरिपरीका अभिनेत्रीभन्दा कम देखिनुहुन्न । त्यसैले पनि उहाँको सुन्दरताको चर्चा भइरहन्छ ।
प्राय कुनै पत्रकार सम्मेलन होस् या चलचित्रका अन्य कार्यक्रम, जहाँ करिश्माको सहभागिता हुन्छ त्यस ठाउँमा मिडियाले सुन्दरताको प्रश्न तेर्साइहाल्छ । करिश्माले सुन्दरतासँग सम्बन्धित केही न केही कुरा बोल्नुपरेकै हुन्छ । यस्तै क्रममा गत शुक्रबार ‘अमिरा ब्युटी केयर’को उद्घाटनमा पनि उहाँको सुन्दरताको कुरा चल्यो । चलचित्र क्षेत्रमा कतिपयले सुन्दरताकै कारण करिश्मा टिकेको पनि भन्ने गर्छन् ।
त्यसै कुरालाई लिएर करिश्माले आफू सुन्दरताका कारणमात्र चलचित्र क्षेत्रमा टिकिरहेको मान्न चाहानुहुन्न । करिश्माले भन्नुभएको छ, ‘मैले फिल्म क्षेत्रमा निकै लामो यात्रा गरेँ, यो सौभाग्य कमैले पाउँछन् । म त्यो भाग्यमानी कलाकार हुँ । अनि, मैले कसरी सुन्दरताकै कारण यति लामो यात्रा गरेँ भन्न मिल्छ र ?’ सुन्दरताले आफ्नो अभिनयलाई छायांमा नपारेको उहाँको भनाइ छ ।
यद्यपि, उहाँ आफ्नो अभिनयलाई औसत मान्नुहुन्छ, ‘मेरो अभिनय क्षमता औसत नै हो । तर, ‘वसन्ती र शुभकामना’ मा मलाई आफ्नो काम मन परेको थियो । यी फिल्ममा मेरो अभिनय हेर्ने हो भने अवार्ड पाउनु पथ्र्याे जस्तो लाग्छ ।
तर, यो क्षेत्रमा के हुन्छ भने राम्रो काम गरेको छ भने तारिफ नमिल्न पनि सक्छ । त्यसमा सबै तालमेल नमिलेर त्यस्तो भएको हुनसक्छ,’ उहाँले सुनाउनुभयो । करिश्माले सुन्दरता भन्ने कुरा सधैं नरहने र अभिनय नै हुनुपर्ने बताउनुहुन्छ ।




















