काठमाडौं:= सहरी सौन्दर्य बढाउन ‘उज्यालो र सफाइ सहर अभियान’ चलाइने भएको छ । नेपाल विद्युत्् प्राधिकरणले नगरपालिकाहरूसँगको समन्वय र सहकार्यमा यस्तो अभियान चलाउने भएको हो । मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिने प्राधिकरणले जानकारी दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्ययोजनामार्फत् वितरण लाइन तथा सबस्टेसनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने र सहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने घोषणा गर्नुभएको थियो । सोही घोषणा कार्यान्वयन गर्न प्राधिकरणले ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउन लागेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरूमा रहेका प्रयोगविहीन अनावश्यक विद्युत्ीय पोल तथा तारहरू हटाउने, तारहरूलाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाइने बताउनुभयो । प्राधिकरणले पहिलो चरणमा उज्यालो र सफाइ सहर अभियान काठमाडौं उपत्यका, भरतपुर र पोखरा महानगरपालिकामा चलाउने भएको छ । त्यसलाई विस्तार गर्दै देशभरि नै सञ्चालन गरिने जनाएको छ ।
‘अहिले सडकमा प्रयोगमै नरहेका अनावश्यक पोलहरू जताततै देखिन्छन्, त्यसलाई हटाउन सुरु गरिसकेका छौं, विद्युत्ीय तारलाई भूमिगत बनाउन पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा धमाधम काम भइरहेको छ, सहरलाई कुरूप बनाएका विभिन्न सेवाप्रदायकहरूको तारको जालोलाई हटाएर हाम्रै भूमिगत प्रणालीमा राखिनेछ,’ घिसिङले भन्नुभयोे, ‘हाल भइरहेको जमिनमाथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको जालो हटेर सुन्दरता कायम राख्न सहयोग पुग्ने भएकाले यसलाई देशका प्रमुख सहरहरूमा विस्तार गर्दैछौं।’
प्राधिकरणका अनुसार भरतपुर महानगरपालिका, झापाको कन्काई, दोलखाको भीमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्मार्ट सडक बत्ती जडान भइरहेको छ । काठमाडौं, पोखरा र ललितपुरमा दोस्रो फेजको स्मार्ट सडकबत्ती जडानका लागि ठेक्का सम्झौता अन्तिम चरणमा रहेको जनाएको छ ।
हाल देशभरबाट थप माग आइरहेको र करिब २० वटा नगरपालिकाबाट प्राप्त मागलाई कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । जसमध्ये कैलालीको धनगढी, बाँकेको कोहलपुर, दाङको लमही तथा तुलसीपुर, मकवानपुरको हेटौंडा, उदयपुरको गाईघाट, मोरङको सुन्दर हरैंचा, धनुषाको जनकपुर, काठमाडौंको कीर्तिपुर, बुढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, काभ्रेको धुलिखेल, नुवाकोटको विदुरलगायत रहेका छन् ।
प्राधिकरणमा प्रबन्धक तथा निर्देशकहरूको सरुवा
नेपाल विद्युत् प्राधिकरणमा दोस्रो कार्यकाल सुरू गर्नुभएका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशक र प्रबन्धकहरूको जिम्मेवारी हेरफेर गर्नुभएको छ । १०/११ तहका प्रबन्धक÷निर्देशकहरूको जिम्मेवारी हेरफेर गर्दा अधिकांशलाई थप जिम्मेवारीसमेत तोकिएको छ । केहीलाई भने सरुवामात्रै गरिएको छ ।
११औं तहका निर्देशकहरूमध्ये चन्द्रशेखर चौधरीलाई प्रदेश नम्बर २ को प्रादेशिक कार्यालयबाट प्राविधिक सपोर्ट विभागमा सरुवा गरिएको छ । यस्तै निर्देशक राजन ढकाललाई बृहत् प्रसारणलाइन आयोजनाहरूको आयोजना प्रमुखबाट प्रदेश नम्बर १ प्रादेशिक कार्यालय विराटनगरमा सरुवा गरिएको छ ।
त्यस्तै निर्देशक नवराज ओझालाई आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गतको चमेलिया-अत्तरिया १३२ केभी प्रसारणलाइन आयोजनाबाट लुम्बिनी प्रदेश प्रादेशिक कार्यालयमा सरुवा गरिएको छ । यता १०औं तहका प्रबन्धकहरूमध्ये जगदीशचन्द्र जोशीलाई सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुखबाट कार्यकारी निर्देशकको सचिवालय प्रमुखमा सरुवा गरिएको छ ।




















