एजेन्सी := बलिउड अभिनेता अक्षयकुमार अभिनित ‘बेल बटम’ बिहिबारदेखि सिनेमा हलमा रिलिज भएको छ। कोरोनाको दोस्रो लहरपछि सिनेमा हलमा रिलिज भएको यो पहिलो ठुलो बलिउड फिल्म हो।
भारतमा अहिले संक्रमण न्यून रहेको स्थानमा सिनेमा हल खुलेका छन्। तर पूर्ण क्षमतामा हल संचालन गर्ने भने अनुमति दिइएको छैन। राज्य सरकारले ५० प्रतिशत अकुपेन्सीमा मात्र फिल्म चलाउन पाउने शर्त राखेका छन्।
हिन्दी फिल्मको सबैभन्दा ठूलो बजार मानिने महाराष्ट्रका सिनेमा हलहरु बन्द छन्। फिल्मको कुल कमाईको ३० प्रतिशत हिस्सा महाराष्ट्रका हलबाट आउने गरेको तथ्यांक छ।
यसैबिच जोखिम मौल्दै ‘बेल बटम’ भारतका १६ सय सिनेमा हलमा रिलिज भएको छ।
कस्तो छ बक्स अफिस कलेक्शन ?
‘बेल बटम’ ले रिलिज भएको पहिलो दिनमा झण्डै तीन करोड बराबरको व्यापार गरेको व्यापार विश्लेषकको अनुमान छ। कोरोनाले सुस्ताएको फिल्मको बजार र विदा नभएको दिनमा फिल्म रिलिज हुनाले पहिलो दिन कम व्यापार भएको बताइन्छ।
शनिबार र आइतबार सरकारी विदा भएकाले फिल्मको व्यापार बढ्ने अनुमान गरिएको छ। यसरी एकसातामा फिल्मले १५ करोड हाराहारीको व्यापार गर्ने अपेक्षा छ।
रन्जित तिवारी निर्देशित यस फिल्ममा अक्षयकुमारका साथै अभिनेत्री वाणी कपूर, लारा दत्ता, हुमा कुरेसी लगायतको अभिनय छ।
अक्षयको पछिल्लो पटक हलमै रिलिज भएको फिल्म ‘गुड न्युज’ ले पहिलो दिनमा नै साढे १७ करोड कमाउन सफल भएको थियो। तर कोरोना महामारी आएसँगै फिल्मको व्यापारमा निकै कमी आएको छ।




















