मेस्सीको आगमनले ‘पीएसजी’मा जितको दबाव, स्टार खेलाडीको टोलीले ‘लिग वान’मा कसरी भर्दैछ उर्जा?

एजेन्सि:= ‘गेलेक्टिकोस्’ को चर्चा हुँदा सन् २००० मा रियल मड्रिडको फुटबल टोलीलाई सम्झने गरिन्छ। गेलेक्टिकोस् अर्थात सुपरस्टार खेलाडीहरुको टिम।

यसले सकारात्मक र नकारात्मक दुवै अर्थ त दिन्छ नै तर फुटबलमा यसले सुपरस्टार खेलाडीलाई अनुबन्धन गरेर बनाइएको विश्वस्तरीय टिम भन्ने अर्थ दिन्छ।

अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनको अवस्था त्यही छ। उसले एकातर्फ स्टार खेलाडी तानिरहेको छ र आफूसँग भएका खेलाडीलाई टिममै राख्न भरपुर प्रयास पनि गरिरहेको छ।

यही महिना अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई भित्र्याएसँगै पीएसजीले स्टार खेलाडीहरुको टिम ‘गेलेक्टिकोस्’ बनाउन सफल भएको हो।

सन् २०११ मा पीएसजीको स्वामित्व लिएको कतार स्पोर्ट्स इन्भेस्टमेन्ट (क्युएसआई) को प्रयास छ युरोपियन च्याम्पियन्स लिग जित्ने। पहिलो च्याम्पियन्स लिग जित्नका लागि टिममा ठूलो रकम खर्चिरहेको पीएसजी पछिल्ला सिजनहरुमा पहिलो पटक फाइनल पुग्न सफल भएको थियो तर उपाधि जित्न सकेको थिएन। अघिल्लो सिजनमा भने फाइनलकै यात्रा पनि तय गर्न सफल भएको थिएन। र, च्याम्पियन्स लिगमा सफलता हात पार्नु चानचुने कुरा पनि होइन।

अहिलेको परिस्थितिले पीएसजी र मेस्सीलाई दोहोरो फाइदा छ। एकातर्फ च्याम्पियन्स लिग जित्नका लागि पीएसजीसँग उत्कृष्ट टिम बनेको छ भने मेस्सीलाई आफ्नो करियरको उत्तरार्ध नजिकिँदै गर्दा अर्को उपलब्धी थप्ने अवसर पनि मिल्नेछ।

मेस्सीमात्र होइन विश्वस्तरीय गोलकिपर जियानलुइगी डोनुरुम्मा, मेस्सीको यसअघिका सदाबहार ‘राइभल’ सर्जियो रामोस, जर्जिनियो विनाल्डल, एचरफ हकिमीलगायतका उत्कृष्ट खेलाडी यसपटक पीएसजी पुगेका छन्। जहाँ यसअघि नै नेइमार, किलियन एम्बाप्पे लगायतका विश्वस्तरीय खेलाडी रहेका छन्।

मतलब स्पष्ट छ, यसपटकको च्याम्पियन्स लिगका लागि दाबेदाहरुमध्येको सबैभन्दा महत्वपूर्ण पीएसजी बन्नेछ।

‘क्युएसआईले सन् २०११ मा पीएसजी किनेको थियो किनभने उनीहरु विश्वकप अघि आफ्नो देशमा पनि फुटबलको एक्पोजर बढाउन चाहन्थे,’ गेट फ्रेन्च फुटबल न्युजका फाउण्डर क्रिस्टियन नोउरी भन्छन्, ‘त्यो विश्वकप नजिकिँदै छ। अब अर्को वर्ष। तर यो एक दशकमा देखिएको कुरा हो क्लबका मालिक अल थानीले क्लबमा अत्यन्तै चासो बढाएका छन्।’

उनी पीएसजीले मेस्सी, नेइमार र एम्बाप्पे जस्ता खेलाडीलाई लिएर विश्वकै उत्कृष्ट टिम बनाउने होडमा पीएसजी लागेको बताउँछन्।

पीएसजीमा मेस्सीका प्रशिक्षक हुनेछन् अर्का अर्जेन्टिनी माउरेसियो पोचेटिनो।

‘पोचेटिनोले च्याम्पियन्स लिगलगायत सबै कुरा जित्नुपर्छ। त्यो पनि आफ्नो शैलीमा। किनभने अहिलेको शैलीमा पीएसजीले संघर्ष गरिरहेको देखिन्छ। खासगरी पछिल्ला सिजनहरुमा काउन्टर अट्याकमा जोड दिएको देखिन्छ’ उनी भन्छन्।

मेस्सीका लागि पीएसजी आदर्श?

आफ्नो यसअघिको दुई दशक लामो करियर स्पेनिस क्लब बार्सिलोनामा बिताएका मेस्सीले पेरिस आइपुग्दा अर्को च्याम्पियन्स लिग जित्नका लागि यो स्थान ‘आदर्श’ हुने बताएका थिए।

पछिल्ला सिजनहरुमा व्यक्तिगत रुपमा राम्रो प्रदर्शनलाई निरन्तरता दिएता पनि मेस्सीमाथि लाग्ने गरेको आरोप हो : बार्सिलोनालाई च्याम्पियन्स लिगमा सफल बनाउन नसक्नु। अघिल्लो सिजन त अझ बार्सिलोनाले ला लिगामै पनि तेस्रो स्थानमा चित्त बुझाएको थियो।

अर्कोतर्फ पीएसजीको अवस्था फरक छ। पीएसजी च्याम्पियन्स लिगको उपाधिको भोको छ। त्यसैले त एकपछि अर्को ठूला अनुबन्धन गर्दै आक्रामक रुपमा लागेको छ।

‘व्यक्तिगत रुपमा मेरो इच्छा छ, अर्को च्याम्पियन्स लिग जित्ने। जसरी मैले अघिल्ला वर्षहरुमा पनि भन्दै आएको थिएँ। र, मलाई लाग्छ, त्यसका लागि म आदर्श स्थानमा आएको छु। र, म तयार छु’ मेस्सीले सीएनएनसँग भने,’हामीसँग समान लक्ष्य छ। यहाँ उत्कृष्ट टिम छ। विश्वकै उत्कृष्ट मध्येको एक। आशा छ हामीले त्यो उपलब्धि हात पार्नेछौं जुन जुन पेरिसले अत्यन्तै चाहेको छ। म पनि यही चाहन्छु’

फ्रेन्च फुटबल ‘बुस्ट’ हुँदै

मेस्सी पेरिस पुग्दा फ्रान्सेली फुटबल प्रतियोगिता ‘लिग वान’मा पनि पक्कै सकारात्मक असर पर्नेछ।

‘लियोनल मेस्सीको आगमनले हाम्रो प्रतियोगिताको आकर्षण र भिजिबिलिटी विश्वभर बढ्नेछ’ बिहीवार लिग वानका अध्यक्ष भिनसेन्ट लाब्रुनेले भनेका थिए,’यो पीएसजीको व्यवस्थापनको रणनीतिको परिणाम थियो। जसले पेरिसियन क्लबलाई दश वर्षभित्र विश्वको उत्कृष्ट क्लबमध्येमा उभ्याउन सफल भयो।’

उनले फ्रेन्च व्यवसायिक फुटबलको तर्फबाट पीएसजीका अध्यक्ष र सिईओलाई धन्यवादसमेत दिए। उनले विज्ञप्तीको अन्त्यमा लेखेका छ्न् : मेस्सी जादु हुन्।

नोउरी मेस्सीको अनुबन्धनलाई ‘ठूलो सप्राइज’ मान्छन् तर उनी पछिल्लो १८ महिना यता लिग वानले भोगिरहेको वित्तिय संकटलाई लिएर चिन्तित पनि छन्।

सन् २०१९/२० को सिजनमा युरोपेली शीर्ष पाँच लिग मध्येमा लिग वानले मात्र कोभिड महामारीका कारण लिग सम्पन्न गर्न सकेको थिएन भने ब्रोडकास्ट पार्टनर मिडियाप्रोसँग ठूलो रकमसमेत गुमाउनु परेको थियो।

त्यसयता ब्रोडकास्टिङको अधिकार लिएर अमेजन अघि आएको छ। प्रतिहप्ता ८ वटा म्याचका लागि ३२३ मिलियन डलरमा सम्झौता भएको फाइनान्सियल टाइम्सको एउटा रिपोर्टमा जनाइएको छ।

‘यो पीएसजीले पाएको उत्कृष्ट अवसर हुनेछ र लिग वानको एक्पोजर लागि पनि महत्वपूर्ण हुन सक्नेछ,’ नौरी भन्छन्, ‘मिडिया प्रोसँगको डिल कोल्याप्स भएपछि टीभी राइटको सन्दर्भमा हामी ५० प्रतिशत तल छौं।’

यद्यपि, उनी तर्क गर्छन् : फ्रान्समा उत्साह त बढेको छ। तर अझै पनि सातदेखि आठ क्लबले यो सिजनपछि कोभिड १९ का कारण परेको क्षतिको लोन तिर्ने सक्ने सम्भावना धेरै छैन।

अर्कोतर्फ ‘द प्राइस अफ फुटबल’ पुस्तकका लेखक किइरन म्यागुइर मेस्सी लगायतको अनुबन्धनबाट पीएसजीले बुस्ट लिन सके पनि लिग वानको सन्दर्भमा पनि त्यस्तै हुने अवस्था नरहन सक्ने बताउँछन्।

उनको तर्क छ : अहिलेको अनुबन्धनले लिगमा प्रतिस्पर्धात्मकता घटाउने छ, ब्रोडकास्टरले देखाउन थालेको रुचीलाई अझ घटाउन सक्नेछ।

‘पीएजी फाइदामा जाने अघिल्लो रात नै देखिइसकेको छ जब सात मिनेटभित्र डेढ लाख जर्सी बिकेको थियो, मेस्सीको ३० नम्बर जर्सी। त्यसैले खासगरी म्याच हुने दिनमा उनीहरुले राम्रो पैसा कमाउन सक्नेछन्,’ उनी भन्छन्।

मेस्सीको अनुबन्धनसँगै इतिहासमै उत्कृष्ट अट्याकिङ ट्रियो भएको दाबी गर्ने म्यागुएर पीएसजीले प्राइज मनि धेरै भेला गर्न सक्ने र च्याम्पियन्स लिगमा पनि राम्रो गर्ने बताउँछन्।

‘क्लबको लागि धेरै फाइदा छ। तर, जब फ्रेन्च फुटबलको कुरा आउँछ, उनको आगमनसँगै जसरी मिडियाको चासो बढेको छ त्यसरी नै ब्रोडकास्टिङ डिलमा पनि चासो बढाउला त? यसमा म निश्चित छैन।’ सिएनएनमा प्रकाशित लेखको भवानुवाद।