काठमाडौं:= सरकारले विदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउने अभियान अघि बढाउने भएको छ । मुलुकभित्रै खपत बढाउन फरक-फरक विद्युत् उपभोक्ता महसुल लागू गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणको ३६ औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘आन्तरिक खपत बढाउन वर्षायाम र सुख्खायामका लागि फरक-फरक विद्युत् महसुल निर्धारण गर्ने र धेरै विद्युत् खपत गर्ने ग्राहकलाई महसुलमा सुविधा दिने निर्णय भइसकेको छ, साथै आन्तरिक खपतपछि बढी भएको विद्युत् छिमेकी देशमा निर्यात गर्ने प्रबन्ध मिलाउन जरुरी छ ।’
मन्त्री भुसालले आगामी दुई वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यलाई सकेसम्म समयअघि सम्पन्न गर्न कार्ययोजनासहित लाग्न प्राधिकरणलाई निर्देशन दिनुभयो । उहाँले नहर तथा कुलोबाट सिँचाइ हुन नसक्ने कृषियोग्य जमिनमा सिँचाइ फिडर जडान गर्दै कृषि विद्युतीकरण गर्ने र सिँचाइमा प्रयोग हुने विद्युत् सहुलियत दरमा उपलब्ध गराउने मन्त्रालयको प्राथमिकता भएको बताउनुभयो ।
‘नेपालको पानी, जनताको लगानी’ अन्तर्गत जनताको लगानीमा अपर अरुण १०६०, चैनपुर सेती ४१०, तामाकोशी पाँचौं १०० मेगावाट आयोजनालाई अघि बढाउनुका साथै कर्मचारीको लगानीमा अपर मोदी ६० मेगावाट निर्माणमा लगिने मन्त्री भुसालले बताउनुभयो । बुटवल-गोरखपुर, केरुङ (चीन)-रातमाटे जस्ता अन्तरदेशीय र पूर्व-पश्चिम, उत्तर-दक्षिण जोड्ने ४०० केभीका प्रसारण लाइन निर्माण गरी उत्पादित विद्युत्को स्वदेशमै खपत बढाउँदै निर्यातसमेत गरिने उहाँको भनाइ छ ।
ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट पाठ सिक्दै १०६१ मेगावाटको माथिल्लो अरुण तत्काल अगाडि बढाउनुपर्ने बताउनुभयो । प्रसारण तथा वितरण संरचना अभावमा उद्योगलाई मागअनुसारको विद्युत् उपलब्ध गराउन नसकिएको भन्दै उहाँले विद्युत् खपत बढाउने कार्ययोजना कार्यान्वयनमा केन्द्रित हुन प्राधिकरणलाई निर्देशन दिनुभयो ।
विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले चुहावट नियन्त्रण, सुशासन कायम गर्न, विद्युत् खपत बढाउन, अर्धजलाशययुक्त तथा जलाशययुक्त ठूला आयोजना निर्माणको नेतृत्व गर्न प्राधिकरणलाई निर्देशन दिनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोगमार्फत् सञ्चालन लागत घटाई ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिने बताउनुभयो । माथिल्लो तामाकोशीलगायतका आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि बजार व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको भन्दै उहाँले उत्पादित विद्युत् स्वदेशमै खपत गर्न तथा बढी भएको विद्युत् अन्तरदेशीय बजारमा बिक्री गर्न आवश्यक प्रबन्ध मिलाइने बताउनुभयो ।
विद्युत् खपत वृद्धिका लागि पूर्वाधार निर्माण, ग्रामीण विद्युतीकरण, कृषि, सिँचाइ र औद्योगिक वर्गका ग्राहकको महसुलमा पुनरवलोकन, विद्युतीय सवारीसाधनको प्रयोग र विद्युतीय चुल्होको उपयोग गर्न र तदनुरूप जनचेतना अभिवृद्धिसमेतका कार्य प्रभावकारीरूपमा सञ्चालन गरिने उहाँको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्यान) का अध्यक्ष कृष्ण आचार्यले विद्युत् खपत बढाउने बृहत् कार्यक्रम कार्यान्वयनसँगै प्रसारण लाइन निर्माणलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।
विद्युत् चुहावट १७.१८ प्रतिशत
एक वर्षमा विद्युत् चुहावट १.९१ प्रतिशतले बढेको छ । प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा विद्युत् चुहावट १७.१८ प्रतिशत पुगेकोे छ । आव २०७६/०७७ मा चुहावट १५.२७ प्रतिशतमात्रै थियो । गत आवमा प्राधिकरणमार्फत् कुल दुई अर्ब ८१ करोड युनिट विद्युत्मात्र उत्पादन भएको छ, जुन २०७६/०७७ को उत्पादन तीन अर्ब दुई करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले घटी हो ।
त्यसैगरी निजी क्षेत्रमार्फत् तीन अर्ब २४ करोड युनिट उत्पादन भएको थियो, जुन गत आवको तुलनामा ८.३६ प्रतिशतले बढी हो । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक घिसिङले आव २०७७/०७८ मा दुई अर्ब ८२ करोड युनिट विद्युत् भारतबाट खरिद गरेको जानकारी गराउनुभयो, जुन आव २०७६/०७७ को तुलनामा ६३.४५ प्रतिशतले बढी हो । गत आवमा प्रणालीमा आठ अर्ब ८७ करोड ७९ लाख ५० हजार युनिट विद्युत् उपलब्ध भएको थियो । जुन आव २०७६/०७७ को तुलनामा १४.६८ प्रतिशतले बढी होे । कुल उपलब्ध ऊर्जामध्ये प्राधिकरणको योगदान ३१.६६ प्रतिशत, आयातित र निजी क्षेत्रको योगदान क्रमश : ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत रहेको छ । आव २०७७/०७८ मा कुल विद्युत् खपत सात अर्ब ३१ करोड ९० लाख युनिट रहेको छ, जुन आव २०७६/०७७ कोे तुलनामा १२ प्रतिशतले बढी हो ।
एक वर्षमा ग्राहक संख्या ७.३७ प्रतिशतले बढेर ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको छ । सामुदायिक संस्थातर्फका पाँच लाख ५० हजार ग्राहकसहित कुल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको बताइएको छ । प्राधिकरणका अनुसार हालसम्म कुल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूतरूपमा ग्रिडको पहुँचसहितको विद्युत् पुगेको छ ।
आव २०७७/०७८ मा विद्युत् बिक्रीबाट प्राधिकरणले कुल ७१ अर्ब २८ करोड आम्दानी गरेको छ, जुन आव २०७६/०७७ को ७६ अर्ब ३१ करोडको तुलनामा ६.५९ प्रतिशतले कम हो । गत आवमा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आवको ६१ अर्ब ८७ करोडको तुलनामा १०.९६ प्रतिशतले वृद्घि भएर ६८ अर्ब ४५ करोड पुगेको छ भने विद्युत् खरिदमा ४१ अर्ब ४६ करोड खर्च भएको छ, जुन आव २०७६/०७७ को खरिदभन्दा १८.०५ प्रतिशतले बढी हो ।




















