भैरहवा:= निर्माण सम्पन्न भएको पाँच महिनामै सडक भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । निर्माण सम्पन्न भएर आयोजनालाई हस्तान्तरण हुन नपाउँदै सडक भत्किएपछि विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा आयोगले भैरहवा-लुम्बिनी-तौलिहवा सडकको गुणस्तर (प्राविधिक परीक्षण अध्ययन) छानविन थालेको हो । अख्तियारले इन्जिनियर सुदीप आचार्यको नेतृत्वमा चार सदस्यीय टोली खटाएर छानविन सुरु गरेको छ ।
भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटकका लागि स्तरीय सडक पूर्वाधारको अवधारणाअन्तर्गत सरकारले भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडक स्तरोन्नति गरेको हो । विश्व शान्तिको मुहान भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने सडक भैरहवादेखि लुम्बिनीसम्म चार लेन र लुम्बिनीदेखि तौलिहवासम्म दुई लेनको बनाउन सरकारले ठेक्का आहृवान गरेको थियो ।
यसअघि भैरहवादेखि लुम्बिनीसम्मको सडक दुई लेनको थियो भने लुम्बिनीदेखि तौलिहवासम्मको सडक सिंगल लेनको थियो । पछि त्यस सडकको स्तरोन्नति गर्दै भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनी पर्सा चौराहसम्म चार लेन र त्यहाँबाट तौलिहवासम्म दुई लेनको सडक निर्माण भएको हो । एशियाली विकास बैंकको सहयोगमा उक्त सडक भैरहवादेखि तौलिहवासम्म ४१ किलोमिटर छ ।
४१ किलोमिटर सडकमा दर्जनौं ठाउँमा खाल्डाखुल्डी परेका छन् । कतिपय स्थानमा त एकतर्फको सडक पूरै दबेको छ । निर्माण सकिएको पाँच महिनामै सडक भत्किएपछि अख्तियारको टोलीले सडकका विभिन्न स्थानबाट नमुना संकलन गरेको छ । अख्तियारले सडकको गुणस्तर मापनका लागि नमुना संकलन गरिएको जनाएको छ ।
नमुना संकलनमा खटिएका इन्जिनियर सुदीप आचार्यले सडकका विभिन्न ठाउँबाट नमुना लिएर गुणस्तर जाँच गरिने बताउनुभयो । ‘सडकको गुणस्तरबारे विभिन्न सञ्चारमाध्यमबाट समाचार आएपछि अख्तियारले छानविन सुरु गरेको हो’, उहाँले भन्नुभयो, ‘गुणस्तर जाँचका लागि सडकको ३०/४० ठाउँबाट नमुना लिन्छौ ।’
अख्तियारले निर्माण कम्पनी, आयोजना कार्यालय, परामर्शदातालाई समेत स्थलगतरूपमै सँगै लिएर नमुना लिइरहेको छ । ४१ किलोमिटर रहेको यो सडक भारतीय निर्माण कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले स्तरोन्नतिको जिम्मेवारी पाएको थियो । कम्पनीले एक अर्ब ९३ करोड ६३ लाखको लागतमा निर्माण गरेको सडक पाँच महिना नपुग्दै भत्किन लागेको हो ।
वर्षांैदेखि हुलाकी सडकको रूपमा परिचित रूपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै कपिलवस्तुको तौलिहवा जोड्ने उक्त सडक पर्यटकीय र औद्योगिक हिसाबले महत्वपूर्ण सडक हो । साँघुरो र धुलाम्मे सडकले विदेशी पर्यटकमाझ नराम्रो सन्देश गएपछि सरकारले सडक स्तरोन्नति गरेको हो । स्तरोन्नति गरेको पाँच महिनामै सडक भत्किन थालेपछि पर्यटक तथा भैरहवा लुम्बिनी आवातजावत गर्ने नागरिकले सास्ती भोग्नुपरेको छ ।
गावर कन्सट्रक्सनले २०२० जनवरी १२ सम्म निर्माण सम्पन्न गर्ने गरी जुलाई १४, २०१७ मा ठेक्का सम्झौतासहित निर्माण कार्य सुरु गरेको थियो । जुलाई १४ मा काम सम्पन्न गर्नेगरी सम्झौता गरेर काम सुरु गरेको भए पनि तोकिएको समयभन्दा ११ महिना ढिला गरी डिसेम्बर २०२० मा काम सम्पन्न गरेको थियो । तीन पटकसम्म भेरियसनसमेत भएको उक्त ठेक्काको लागत बढेको छ । सुरुवातमा एक अर्ब ९३ करोड ६३ लाख भए पनि पछि विभिन्न कारण देखाई भेरियसन गरिँदा ठेक्का कबोल मूल्य बढेर दुई अर्ब आठ करोड ८४ लाख ५४ हजार पुगेको छ । ठेकेदार कम्पनीले नेपाल सरकारसँग बढेको रकमअनुसार भुक्तानीसमेत प्राप्त गरिसकेको छ ।




















