बाध्यतामा वैदेशिक रोजगारी अँगालिरहेका नेपाली र राज्यको जिम्मेवारी।

[ केशव आचार्य ] 

विश्वमा वस्तु तथा सेवाको निर्माण श्रमको प्रतिफल हो । वस्तु तथा सेवा उपभोगयोग्य बनाउन प्रयोग गरिने परिश्रमलाई नै श्रम भनेर बुझिन्छ । मिहिनेत, लगाव, सिर्जनशीलता आदिलाई श्रमको परिरूपको पर्यावाची रूपमा प्रयोग गरिन्छ । मानिसले आश्रम, मिहिनेत, लगाव र सिर्जनशीलताको आधारमा आययुक्त काम गर्ने अवसर पाउनु रोजगारी हो । आयआर्जनसँग जोडिएको कामलाई रोजगारी मानिन्छ । काम गर्ने प्रशस्त आधार भएर पनि काम गर्छुभन्दा काम नपाउनु चाँही बेरोजगारी हो । अधिकांश नेपालीहरू नेपालमा बेरोजगार बस्नु परेकाले पनि वैदेशिक रोजगारमा जान बाध्य छन् ।

यसरी कामको शिलशिलामा श्रमिकलाई विदेश लैजाने प्रक्रियालाई वैदेशिक रोजगारी भनिन्छ । यो ब्रेनड्रेन र ब्रेडड्रेन हो । उच्च जनशक्ति देश विकासको प्रमुख र महŒवपूर्ण स्रोत हुन् । यी स्रोतको निर्माण, परिचालन र व्यवस्थापनको अवस्था राज्यशक्तिको सक्षमतामा निर्भर रहन्छ । १८ वर्षदेखि ६० वर्षसम्मका मानिस रोजगारीमा आवद्ध हुन्छन् यसमा पनि युवाहरू त शतप्रतिशत नै हुन्छन् । हाल नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूमा पनि युवाजनशक्ति नै अत्याधिक रहेको पाइन्छ ।

नेपालीहरू वैदेशिक रोजगारीका लागि मध्येपूर्वका खाडीमुलुकहरूमा जाने क्रम सन् १९८० को दशकबाटै सुरु भएको पाइन्छ । आजभोलि यो क्रम बढ्दा अहिलेसम्म ५० लाखभन्दा बढी नेपालीले यी देशमा रोजगारी गरिरहेको अनुमान गरिन्छ । कुनै आधिकारिक तथ्यांक नभएता पनि हालका दिनहरूमा लगभग १२ लाख नेपाली श्रमिक मध्यपूर्वका यी खाडी देशहरूमा कार्यरत छन् ।

संयुक्त अरब इमिरेट्समा तीन लाख, कतारमा चार लाख, कुवेतमा एक लाख, साउदी अरबमा तीन लाख बहराइनमा २५ हजार र ओमानमा २० हजारको हाराहारीमा नेपालीहरू पसिना बगाइरहेका छन् । विश्वमा पेट्रोलियम पदार्थको उपभोग बढेसँगै यसको कमर्सियल उत्पादन र बजारीकरणले उच्च रूप लिँदैगयो । यसकै माध्यमबाट यी देशहरूले आर्थिक उन्नति गरे । इरान र इराकसहित अहिले संसारको लगभग ५० प्रतिशत पेट्रोलियम पदार्थको उत्पादन यिनै देशमा हुन्छ । विश्वलाई पेट्रोल बेचेर नै यी देशहरूले आफूलाई आर्थिक रूपमा सम्पन्न बनाउँदै लगेका छन् ।

किन अँगालियो वैदेशिक रोजगार ? 

देशमा वस्तु तथा सेवाको बृहत् उत्पादन गरी रोजगारी सिर्जना गर्ने जिम्मेवारी सरकारमा निहित रहेको हुन्छ । सरकारको नीति तथा कार्यक्रमले यसलाई निर्देशित गर्दछ । स्पष्ट नीति र राजनीतिक स्थिरता भएको देशमा उत्पादन, बजारीकरण र रोजगारी प्रमुख लक्ष्य बन्छ फलस्वरूप गरीबी न्यूनीकरण हुन पुग्छ । शिक्षा देशको परिवेशलाई मुखरित गर्ने हुनुपर्छ, यसलाई प्रतिफलमुखी बनाउने काम देशको विकास नीतिसँग सम्बन्धित हुन्छ । राजनीतिक अस्थिरता र संक्रमणको नाममा स्वदेशमा रोजगारको अवसरको खडेरी तथा विदेशमा आकर्षक आयको भ्रम आदिले युवा जनशक्तिमा विदेशिने मनोविज्ञान बढेको पाइन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र दैनिक दुई हजारको हाराहारीमा रोजगारीको लागि युवायुवती विदेशिने गरेको तथ्यांकले देखाउँछ । नेपालमा प्रत्येक वर्ष पाँच लाखको हाराहारीमा युवा शक्ति रोजगारीका लागि तयार हुन्छन् । राज्यबाट देशमा रोजगार सिर्जना गर्न लागि खासै पहल भएको देखिँदैन । जसका कारण अहिले झण्डै आधा करोडभन्दा बढी युवाहरू रोजीरोटीका लागि भौतारिँदै विदेशी भूमिमा पसिना बगाउँन विवश भएका छन् ।

अहिले नेपालमा ब्रेनड्रेन र ब्रेडड्रेनको कारण युवा जनशक्ति पलायनले बिकराल रूप लिइरहेको छ । निश्चित स्तरको अध्यययन पश्चातको गन्तव्य स्पष्ट नहुँदा योग्यता अनुसारको काम नपाउँदा नो देशमा भविष्य नदेख्नु र प्राज्ञहरू विदेशिन बाध्य बनिरहेको अवस्था छ । युवाहरूले आज रेमिट्यान्सको अर्थतन्त्रमा सरकार खुशी बन्नु देशका लागि दुर्भाग्य हो । विदेश पलायन हुने दर माओवादी द्वन्द्वकालपछि अधिक बढेको पाइन्छ । ऊर्जाशील बेरोजगार युवाहरूलाई विदेश पठाएर आर्थिक क्रान्ति नयाँ नेपाल बनाउने नारा सरकारको झुटको खेतीमात्र बन्न पुग्यो ।

शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ सीप सिकाउने खालको जाँगरिलो परिवेशलाई पौरखी शिक्षा जुन दैनिक जीवनमा प्रयोग हुने खालको हुनुपर्छ । साक्षात्कार गर्ने गराउने शिक्षाको अभाव युवा पलायन गराउने माध्ययम बनिरहेको छ । हाम्रो शिक्षा विदेशिने जनशक्तिलाई स्वदेशमै प्रयोग कसरी गर्न सकिन्छ भन्ने चिन्ता र चिन्तनको विषय बन्न सक्नुपर्छ । ब्रेनड्रेन र ब्रेडड्रेनको समस्यामात्र उजागर गर्ने तर त्यसलाई निरुत्साहित गर्ने स्वरोजगारमूलक शिक्षाको खोजी नगर्ने सरकारी प्रवृति घातक बन्दैगइरहेको अवस्था छ । नैतिक शिक्षाले संस्कार, अनुशासन, व्यवहार सिकाउँछ जसको सदुपयोग नगरिँदा ऊर्जाशील युवाहरू पनि स्वदेशमा कुने पेशा अँगाल्न हिचकिचाउने, सामान्य सीपले नै पुग्ने कामका लागि खाडीमुलुक जानै तँछाडमछाड गरिरहेका छन् ।

विश्व नै कोरोना महामारीमाको चपेटामा रहेको यो परिस्थितिमा खाडीका मुलुकहरू यसको मारमा परे । तेलले धानेको यी देशहरूको अर्थतन्त्रलाई कोरोना माहामारीले त्यति धेरै क्षति नपु¥याए पनि अर्थतन्त्रको आन्तरिक कारोबारलाई बिथोलेको छ । ठूला कम्पनीहरू केहीमात्रामा धराशयी अवस्थामा पुगे तर साना माझौला कम्पनीहरू निकै मारमा परे । यति हुँदाहुँदै पुनः आर्थिक कृयाकलापका स्रोत सिर्जना गर्न उनीहरू आतुर देखिन्छन् । यसकारण माहामारीलाई नियन्त्रणमा लिन साधनहरूलाई अधिकतम प्रयोग गरी उपलब्धि हाँसिल गर्न सफल पनि भएका छन् । खाडीका अन्य देशमा कार्यरत सबै मुलुकले पनि आफ्ना श्रमिकलाई खोप प्रदान गरी आफूलाई सुरक्षित बनाउँदै लगेका छन् ।

अब के हुन्छ ? 

कोरोना संक्रमणले विश्व अर्थतन्त्र दैनिक रूपमा शिथिल बनिरहेको छ । यस प्रकोपको कारणबाट विश्वले ठूलै आर्थिक र मानवीय मूल्य चुकाउनुपर्ने देखिन्छ । यसरी विश्वको अर्थव्यवस्था धराशयी हुँदै गएकोमा सर्वत्र चिन्ता र चासो सार्वजनिक भइराखेका छन् । कोरोनाले व्यक्ति, परिवार र देश हुँदै विश्वलाई समेत कंगाल बनाउँदै छ । कोरोना माहामारीको बन्दाबन्दीका कारण आर्थिक क्रियाकलाप प्राय ठप्प नै भयो । असंगठित क्षेत्रमा कार्यरत मजदुरहरूको रोजगारी तीव्र गतिमा गुम्दै गइरहेको छ । विश्व श्रम संगठनको प्रारम्भिक अध्ययनअनुसार विश्वका एक अर्ब ७० करोड मजदुर प्रत्यक्षरूपमा प्रभावित भएका छन् । नेपालमा पनि कोभिड–१९को बन्दाबन्दीका कारण २० लाखभन्दा बढी मजदुरको रोजगारी गुमेको छ ।

विश्व बैंकका अनुसार कोरोना कहरका कारण रोजगारी गुम्दा १० करोडभन्दा बढी मानिस अति गरिब बन्ने आंकलन गरेको छ । विश्वका एक सय ६६ देशमा गरिएको अध्ययनमा सबभन्दा बढी सबसहारा अफ्रिकामा २२.६ प्रतिशत, दक्षिण एसियामा १५.६ प्रतिशत, ल्याटिन र क्यारेबियन क्षेत्रमा २.७, प्रतिशत गरिबी बढ्ने बैंकको प्रक्षेपण छ । नेपालको आर्थिक क्षेत्रमा पनि कोरोना संक्रमणको नकरात्मक संकेतहरू देखिन थालेका छन् ।

नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशत मानिए पनि कोरोनाको कारण यो बढेर २२ प्रतिशत पुगिसकेको आंकलन छ । यसबाट नेपालको कुल गार्हस्थ्य उत्पादन ०.०४ प्रतिशत वा १२.१२ मिलियन अमेरिकी डलरमा खुम्चिने आकलन गरिएको छ । जसले समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकंक्षालाई सफल बनाउन बाधा पु¥याउँने देखिन्छ ।

बचेखुचेका आफ्नो देशमा रोजगारी नपाएर चारैतिर अभावै अभावमा छटपटिएर निराश हुन पुग्नेरुजनशक्ति आ वातावरण वन्न पुग्छ । यसरी विरत्तिएर विदेशिएका नेपालीहरू झन् कष्टकर अमानवीय व्यवहार सहन बाध्य हुनुपर्ने अवस्था सिर्जना हुनसक्छ । धेरै नेपाली युवा खाडीमा पसिना बगाइरहेका छन् तर उनीहरू सधैं घरपरिवारको स्वास्थ्य सुरक्षामा चिन्तित भएर काम गर्नुपर्ने अवस्था छ । राजनीतिज्ञको गैरराजनीतिक चरित्रका कारण गरीबहरू बिहान बेलुका एक पेट भर्नकै लागि मात्र ठीक हुने काम गर्न बाध्य बन्छन् । पानी विनाको माछा झै उनीहरू छटपटाइ रहने स्थिति बन्दै जान्छ ।

पहिला योग्यताअनुसारको काम नपाउँदा मानिसहरू विदेशिन्थे अब एक पेट भर्नकै लागि विदेशिनुपर्ने अवस्था आउँछ जसलाई ब्रेड ड्रेन भनिन्छ । नेपाली कूटनीतिक नियोगहरू नेपालका श्रमिकका मामिलामा अहिलेसम्म कमजोर रहे भोलिका दिनमा यसले थप उन्नति गर्ला भन्ने आधार कमजोर बन्दै गयो । कूल ग्राहस्थ उत्पादनको ठूलो हिस्सा रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा अल्पकालीन असरभन्दा पनि दीर्घकालीन असर धेरै पार्दछ ।

ब्रेनड्रेन र ब्रेडड्रेन दुवै न्यूनीकरण गर्ने उपायहरू :

प्रमुखतः यो अवस्था सिर्जना हुनुको विषयमा सबैको चिन्ता र चिन्तन हुनुपर्छ । आउँदा दिनहरूमा यसको नतिजा कस्तो होला ? विज्ञहरूको समूह निर्माण गरी अध्ययन र अनुसन्धानबाट निकास खोज्न बिलम्व गर्नु हुँदैन । नेपाली श्रमकिहरूको श्रमको मूल्य र यिनीहरूले पुर्‍याएको योगदानमा नेपालको भूमिका खोज्ने हो भने नेपाली श्रमिकको अवस्था बलियो बनाउने आधारहरू प्रशस्त छन् तर खोजिएन ।

वैदेशिक रोजगारीमा मात्र सीमत नेपाल र खाडी राष्ट्रबीचको श्रम कूटनीतिलाई अब खोप आफ्नो देशमा कार्यरत नेपाली कूटनीतिसँग जोड्दा पनि यसले फाइदा पुग्ने देखिन्छ । आफ्ना श्रमिकहरूका आफन्त नातागोता, आमाबाबु खोपको अभावमा मृत्युको मुखमा पुगिरहेका छन् । यिनकै छोराछोरीले खाडीका देश बनाइरहेछन् यो अवस्थालाई खाडीका मुलुकहरूले बुझ्नुपर्छ ।

नेपालले बुझाउन सक्नुपर्छ । दुबई र कतारका अग्लाअग्ला गगनचुम्बी भवन बनाउने नेपाली श्रमिकहरूको घरपरिवारको स्वास्थ्य सुरक्षाप्रतिको चासो यी देशहरूले लिनुपर्छ । नेपाली श्रमिकहरूको घरपरिवारको सुरक्षा गर्ने दायित्व उनीहरूको पनि हो । उनीहरूका घरपरिवारलाई सुरक्षित गर्न सके मेरो देशको विकासमा थप टेवा पुग्छ भन्ने कुरा ती देशहरूले मनन् गर्न जरुरी छ ।

राजनीतिक स्थायित्व र सरकारको जन आवश्यक विषय वस्तुलाई समेटेर सरकारी नीति तथा कायक्रम अवलम्बन गर्दा यी समस्याहरूलाई न्यूनीकरण गर्न त सकिन्छ तर सरकारको चासो नभएसम्म यो सफल बन्न सक्दैन । विद्यमान स्रोतसाधनको उपयोगमार्फत उद्योगधन्दा सञ्चान गरी रोजागार उन्मुख नीति कार्यान्वयन गर्न आवश्यक हुन्छ । श्रम जनशक्ति सम्झौता गरी आ विदेश पठाउन खुशी भइरहेको सरकारी दृष्टिकोण परिवर्तन हुनुपर्छ ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा यी मुलुक र नेपालका साझा धारणा र चासोहरू उजागर गर्ने रणनीति बनाउनुपर्छ । संयुक्त राष्ट्रसंघका विभिन्न फोरममा नेपालको साथ सहयोग र समर्थन अन्य देशहरूलाई कति महत्वपूर्ण छ भन्ने विषयलाई प्रष्ट्याउनुपर्छ । कतिपय विषयमा घोषित वा अघोषित रूपमा सहकार्य गरिरहेकै छन् सहकार्यको महत्व दुवै देशले बुझ्नुपर्दछ । अहिलेको माहामारी यो समस्याबाट बाहिरिन हरेक देशहरूले निरन्तर प्रयास आफ्ना स्रोत र साधनलाई प्रयोग गरेर माहामारीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आफ्ना प्रयासमा सबै राष्ट्रहरूको सहकार्य आवश्य पर्छ ।

अन्तमा, देशमा जनताको शासन आएसँगै श्रम निर्यात बढेर गयो । विशेषतः खाडी मुलुकहरूमा दक्षभन्दा पनि अदक्ष र अर्धदक्ष श्रमिकहरूको बाहुल्य छ । देशमा सामान्य रोजगारी पनि सिर्जना हुननसक्दा रोटीकै लागि रोजगारी खोज्दै उच्च तापक्रमका खाडी मुलुकहरूमा काम गर्न बाध्य भएको गुनासो श्रमिकले गरिरहेका छन् । दैनिक जसो कफिनमा तिनै श्रमिकका लासहरू नेपालमा भित्रिरहेका पनि छन् ।

नेपाली श्रमिकहरूको बलिदानीले सिर्जना गरेको आफ्ना स्रोतसाधन खेर गइरहेका छन् जनशक्ति र रेमिट्यान्समा देशको अर्थतन्त्र निर्भर छ । अन्यदेशमा श्रम बेच्न बाध्य बन्दै गए । देशमा स्थायी आर्थिक उपार्जनको माध्यम नै भएन । यसका लागि सरकार काँधमा जिम्मेवारी, छात्तीमा इमानदारी, मस्तिष्कमा समझारी र व्यवहारमा सदाचारी हुन आवश्यक छ ।