मुम्बई := चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि टेलिभिजनमा प्रसारण हुने भएपछि उक्त शोका दर्शकमा खुसीयाली छाएको छ । यसैबीच ‘द कपिल शर्मा शो’ ले प्रसारणका लागि गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १२’ को स्थान पाएको छ । अब शोको पहिलो एपिसोड दर्शकले २१ अगस्टमा हेर्न पाउनेछन् ।
पछिल्लो केही दिनदेखि शोको पहिलो गेस्ट अक्षयकुमार रहने समाचार बाहिर आएको थियो । तर, अहिले भने शोमा पहिलो गेस्टका रूपमा अजय देवगनलाई देख्न पाइने भएको छ । अजय देवगनको फिल्म ‘भुज ः द प्राइड अफ इन्डिया’ १३ अगस्टमा रिलिज हुँदैछ । सोही कारण पनि उहाँ गेस्ट बन्न लागेको बुझिएको छ । कपिलले पहिलो एपिसोड प्रसारणअगाडि चार भागसमेत तयार गरेको बताइएको छ ।
कपिलले हालै सामाजिक सञ्जालमा शोको सेटका केही तस्बिर सेयर गर्नुभएको छ । जसमा १० स्टार किराना पसल, होटल चिल प्यालेस र बैंक अफ बगोडाजस्ता विषय सेटमा समेटिएको देख्न सकिन्थ्यो । फिल्म ‘भुज’ प्रचारका लागि शोमा अजय देवगनका अलावा नोरा फतेही, एमी विर्क र शरद केलकरसमेत देखिनुहुनेछ ।




















