मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु।

बागलुङ:= बागलुङको बडिगाड गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ५ दाँग घैयाबारीका २२ वर्षीय रेमश पाईजाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

वडा नम्बर ५ को सिमाकमा फुपुको घरमा मोबाईल चार्च गर्ने क्रममा विद्युत सर्ट भई उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

सिमाक स्थायी घर भई दाँगमा डेरा गरेर बस्दै आएका पाईजा आफ्नो घरमा विद्युत नभएपछि श्रीमतीको फुपुकोमा मोबाईल चार्ज गर्न भनेर गएका थिए।

मृतक पाईजाका श्रीमती र १८ महिनाकी छोरी रहेको बताइएको छ । घटनाबारे जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र ग्वालीचौर प्रहरी चौकीबाट प्रहरीले टोली पुगेको थियो ।

उनको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । दिउँसो २ः२० बजेको समयमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।