साढे दुई मै वित्यो चार वर्ष, अझै फेरिएन घण्टाघरको घडी।

[ संजीव कुमार मिश्रा ] 

बारा:= २० वर्ष पछि स्थानीय निकायको चुनाव भयो । सबै स्थानीय तहमा जनताले चुनेका जनप्रतिनिधिहरु आए । विकासको मूल फुटाउने उद्देश्य लिएर स्थानीय तहको चुनावमा जनताहरुले पनि उत्साहित भएर भोट खसाले । आफूले राजेको खोजेको जनप्रतिनिधि आएपछि विकासको मूल फुटने सपना लिएर मतदान गरेका जनताहरु अहिले दुखित देखिएका छन् ।

आफूले मतदान गरेर जिताएको जनप्रतिनिधिहरु विकास भन्दा पनि भ्रष्टाचारमा लिप्त भएको गुनासो बढदै गएको छ । जनप्रतिनिधिहरुले चौतर्फी विकासको वाचा विर्सेकै कारण कलैया भरतचौक स्थित घण्टाघरको घडीमा साढे दुई बजेको सुई जनप्रतिनिधि आएको चार वर्ष वितिसक्दा पनि अगाडी बढन पाएको छैन् ।

जिल्लाको सबैभन्दा पुरानो नगरपालिका कलैया उपमहानगरपालिको भरतचौकमा स्थित घण्टाघरको घडीमा अहिले पनि साढे दुई भन्दा बढी बज्न सकेको छैन । जिल्लाको पहिचान झल्काउने यो घण्टाघरको घडी निर्माण भएको केही दिन सम्म चल्यो तर बन्द भएपछि यसको मर्मत सम्भार हुन सकेको छैन ।

जनताद्धारा निर्वाचित जनप्रतिनिधि आएपछि यसको मर्मत सम्भार होला र फेरि घण्टाघरको घडी गतिमान होला भनि आफूहरुले आस गरेको घण्टाघर नजिकै मिठाई पसल संचालन गर्दै आउनु भएका सुरेश साहले गुनासो गर्नुभयो ।

लाखौ रुपैया“ खर्च गरेर निर्माण भएको घण्टाघरको मर्मत सम्भार नगरिएको घडी विग्रिएपछि त्यसलाई बनाउनु त कता हो कता एउटा घडी नै गायब भएको उहाँले जानकारी दिनुभयो।

बाहिरका मानिसहरु आएर हामीसँग सोद्धछन् उहाँले भन्नुभयो, घण्टाघरको मर्मत सम्भार हुँदैन, यसको घडी पनि विग्रिएको छ, फोहोरले गर्दा बस्न सक्ने अवस्था समेत छैन, के यहाँका जनप्रतिनिधिहरुले यसको संरक्षणको लागि कुनै पहल गरेका छैनन् ? ’ त्यो बेला आफू पनि लज्जित हुने गरेको तर यी जनप्रतिनिधीहरु कानमा तेल हालेर सुतेको गुनासो गर्नुभयो ।

घण्टाघरको संरक्षणमा उपमहानगरपालिकाले ध्यान नदिएको घण्टाघर नजिकै विगत लामो समय देखि पसल संचालन गर्दै आएका श्याम साहले आरोप लगाउनुभयो । घण्टाघरको एउटा घडी पनि कसले लग्यो कहाँ छ थाहा नभएको जानकारी दिनुभयो ।

तीन दशक अगाडी निर्माण भएको घण्टाघरको मर्मत सम्भार र रेखदेख हुन नसक्दा घण्टाघर विस्तारै जिर्ण हुँदै गएको छ । यसको वरिपरि फोहोरको डंगुर रहेको छ । फोहोरले खडा हुन समेत नसकिने अवस्था रहेको उहाँले गुनासो गर्नुभयो । घण्टाघरको मर्मत सम्भारको कार्य गर्न बजेट विनियोजन गरिएको कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयोे, ‘यसपाली घण्टाघरको मर्मत सम्भार र घडी लगाउनको लागि बजेट छुट्टयाइएको छ, र यो काम चाँडै नै शुरु हुनेछ । घण्टाघरको एउटा घडी विग्रिएर त्यतिकै थन्किएको छ, यो घडी बन्न सक्दैन भनि एक्सपर्टले बताएकोले यसको लागि टेण्डर आहवान गरेर नयाँ घडी लगाउने जमर्को गरेको उहाँले बताउनु भयो ।