काठमाडौं:= पार्टीको १४औं महाधिवेशन अनिश्चित बन्दै गएपछि नेपाली कांग्रेसले कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ । भदौ १६ देखि १९ सम्म पार्टीको १४औं महाधिवेशनका लागि मिति तय भए पनि सम्भव नहुने भए पनि कार्यतालिका हेरफेर हुने भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउने बताउनुभयो ।
क्रियाशील सदस्यता विवाद, पार्टीको महाधिवेशनलगायत विषयमा छलफल गर्न बिहीबारबाट कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो । बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिले निर्माण गर्नेगरी प्रस्ताव पेश गर्नुभएको छ । यस्तै क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको तर्फबाट विवरण राख्नुभएको छ । प्रवक्ता शर्माका अनुसार समायोजन समितिका संयोजक विमलेन्द्र निधिले सो अवधिमा गरेका कामको विवरण पेश गर्नुभएको छ । बैठकमा पेश भएका तीनवटै प्रस्ताव केन्द्रीय समितिबाट पारित भएपछि महाधिवेशनको परिवर्तित कार्यतालिकाका विषयमा छलफल हुने उहाँले बताउनुभयो । केन्द्रीय कार्यसमिति सदस्यहरूको सुझाब बमोजिम १४औं महाधिवेशनको परिवर्तित कार्यतालिका आउने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय निर्वाचन समितिले पारित गरेर पठाएको निर्वाचन निर्देशिका प्रस्तुत गर्नुभएको थियो । निर्देशिकाबारे छलफल गरी प्राप्त हुने राय, सुझाब बमोजिम बैठक सकिँदा निर्देशिका पारित गरिने प्रवक्ता शर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बैठकमा केन्द्रीय कार्यसमितिले कार्यतालिका निर्माण गर्नेगरी, कार्यतालिका कहिले सुरु गर्दा उचित हुन्छ भन्ने सन्दर्भमा बैठकमा प्रस्ताव प्रस्तुत भएको छ । केन्द्रीय कार्यसमिति सदस्यको सुझाब बमोजिम १४औं महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउनेछौं ।’
नेता प्रदीप पौडेलले प्रतिवेदनमाथि छलफल गरी टुंगो लागेपछि महाधिवेशनको मितिका विषयमा छलफल हुने बताउनुभयो । अहिले ठूलो समस्याका रूपमा रहेको समायोजन समितिको प्रतिवेदन क्रियाशील सदस्यतासम्बन्धी विवरण भएकाले यी दुई विषय टुंगिएपछि महाधिवेशनको मितिका विषयमा बैठकमा छलफल हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘क्रियाशील सदस्यताको विषय सकिएपछि मतदाता नामावलीको टुंगो लाग्छ । र त्यसपछि महाधिवेशनको मितिका सन्दर्भमा छलफल हुन्छ । भदौ १६ बाट १९ सम्म सम्पन्न गर्ने अवस्था छैन । तर भदौ २३ सम्म गर्नुपर्ने बाध्यता छ । वैधानिकताका सन्दर्भमा त्यसैले त्यो समयसम्म महाधिवेशन सुरु गर्ने सन्दर्भमा छलफल प्रारम्भ हुन्छ ।’
नेता पौडेलले महाधिवेशनको प्रक्रिया छोट्याएर भए पनि वैधानिकता संकटमा नपर्ने गरी महाधिवेशन गर्नुपर्ने बताउनुभयो । उहाँले भदौ २३ गते महाधिवेशन सुरुवात गर्नैपर्ने बाध्यता रहेकाले सो विषयमा तयारी गरेर निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भदौ २३ गतेभित्र सुरुवात गर्नुपर्छ । र त्यसपछि कहिले सक्ने हो भन्ने कुरा निर्वाचन आयोगलाई जानकारी गराउनुपर्छ । मतदाता नामावली सकाएर वडा अधिवेशन सुरु गर्ने र अन्य अधिवेशनको मितिको फेहरिस्त कार्यतालिका आउनुपर्छ ।’
उहाँले क्रियाशील सदस्यतासम्बन्धी विवाद बढ्दै जाँदा सबै सदस्यको नामावली पार्टीको वेभसाइटमा राख्नुपर्ने र आएका सुझाबअनुसर अगाडि बढ्न सहज हुने बताउनुभयो । छानविन समितिबाट हल गर्न नसकिएका विषय र छुट भएका विषयहरू समाधान गर्न यसले सहयोग गर्ने उहाँको भनाइ छ ।
संस्थापन पक्षका सभापतिहरूको आरोपः पौडेल समूहले महाधिवेशन भाँड्न लागे
नेपाली कांग्रेसमा महाधिवेशन अनिश्चित बन्दै गएपछि अहिले गुटगत गतिविधिहरू बढ्न थालेका छन् । जिल्ला सभापतिहरू नै गुटगत भेला गरेर एकअर्को पक्षलाई आरोपित गरिरहेका छन् । बिहीबार बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरूको इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेको छ ।
ललितपुरको समिट होटलमा बिहीबार बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरूको बैठकले इतर पक्षीय सभापतिहरूको बैठकप्रति आपत्ति जनाउँदै इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका हुन् । बैठकपछि संस्थापन पक्षका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहोराले १४औं महाधिवेशनलाई फोकस गरेर छलफल भएको बताउनुभयो । उहाँले महाधिवेशनको समय सकिन लागेको जनाउँदै दश–बाह्र दिनमै महाधिवेशन सिध्याउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘१४औं महाधिवेशनलाई नै फोकस गरेर छलफल ग¥यौं, किनभने १४औं महाधिवेशनको समय सकिन लाग्यो । हामीले महाधिवेशन १०÷१२ दिनमै सक्छौं, यदि कांग्रेसको क्रियाशील विवाद सकियो भने हामीसँग अझै समय छ, छिटोभन्दा छिटो महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्छ ।’
नेपाली कांग्रेस सप्तरी जिल्ला सभापति दिनेश यादवले कांग्रेसले सप्तरी र बारा जिल्लालाई पनि नयाँ क्रियाशील सदस्यता दिनुपर्ने माग राखेको बताउनुभयो । उहाँले जिल्लाका केही वडाले यसमा असन्तुष्टि व्यक्त गरेको बताउँदै नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र रोक्नुपर्ने माग राख्नुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसले देशभर क्रियाशील छानविन सदस्य गठन गरेको छ । सप्तरी र बारा जिल्लालाई नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र गरेको छ । सभापतिको भेलाले सप्तरी र बाराको नयाँ क्रियाशील सदस्यताको फाइल दिनुपर्छ भनेर एकमतले कुरा उठाएका छौं ।’
नेपाली कांग्रेस दोलखाका जिल्ला सभापति रुद्रबहादुर खड्काले कांग्रेसको १४औं अधिवेशनलाई विधिसम्मत, संविधानसम्मत, छिटो सम्पन्न गर्नुपर्ने बारेमा छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले बारा र सप्तरी जिल्लाका केही वडामा क्रियाशील सदस्यहरूको विषयलाई निकालेर महाधिवेशन अल्मल्याएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले क्रियाशील सदस्यतालाई अल्मल्याएर विशेष महाधिवेशनमा लैजाने भ्रम छ । यो भ्रममा रहनुहुँदैन । क्रियाशील सदस्यताको टुंगो लगाउन शीर्ष नेताहरूलाई जिम्मेवारी दिइएको छ, उहाँहरूले त्यसलाई बेवास्ता गरेको जस्तो हामीले बुझेका छौं ।’
नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सभापति प्रदीप सुनुवारले क्रियाशील सदस्यहरूको विवाद नरहेको बताउनुभयो । उहाँले सर्वपक्षीय रूपमा बनेको छानविन समितिले सर्वपक्षीय रूपमै निर्णय गरेकाले विवाद नरहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘क्रियाशील सदस्यहरूको विवाद छैन, विवाद भएको भए छलफल हुन्थ्यो, यसमा सर्वपक्षीय छानविन समिति बनेको छ, यसले सर्वपक्षीय रूपमै निर्णय गरेको छ, निर्णय भइसकेको कुरा निकाल्नु भनेको अधिवेशनलाई धकेल्ने काम मात्रै हो ।’
नेपाली कांग्रेस बाराका जिल्ला सभापति जयचन चौरासियाले विधिसम्मत रूपमा बारा र सप्तरीका क्रियाशील सदस्यहरूको फाइल खोल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अविलम्ब केन्द्रीय कार्यसमितिले खोल्न लगाउनुपर्छ, बारा र सप्तरीको क्रियाशीलका फाइलहरू खोलिएको छैन, त्यसलाई विधिसम्मत रूपमा अविलम्ब केन्द्रीय कार्यसमितिले खोल्न लगाउनुपर्छ र नयाँ र पुराना समावेशी भएर आएका सबै सदस्यहरूलाई सदस्यता दिनुपर्छ ।’
सोमबार र मंगलबारमात्रै पौडेल पक्षका जिल्ला सभापतिहरूको भेला बसेको थियो । भेलाले पाँच बुँदे सुझाब दिँदै कार्यान्वयन नगरे जुनसुकै कदम चाल्न पनि आफूहरू पछि नपर्ने चेतावनी दिएको थियो ।




















