नागरिकको जीवन रक्षा र महामारी नियन्त्रण उच्च प्राथमिकता : राज्यमन्त्री श्रेष्ठ।

काठमाडौं:= सरकारले नागरिकको जीवन रक्षा, महामारी नियन्त्रण, रोकथाम, उपचार र खोप निःशुल्क व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताउनुभएको छ । राज्यमन्त्री उमेश श्रेष्ठले बिहीबारको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै खोप आयात, भण्डारण, वितरण गरी नेपाली जनताको जीवन रक्षाको जिम्मेवारीलाई सरकारले पूरा गरिरहेको बताउनुभयो ।

उहाँले असोज मसान्तसम्ममा थप एक करोड दुई लाख खोप प्राप्त हुने बताउँदै हालसम्म एक करोड आठ लाख ६० हजार १७० मात्रा कोभिड–१९ विरुद्धको खोप प्राप्त भएको जानकारी दिनुभयो ।

राज्यमन्त्री श्रेष्ठले माघ मसान्तसम्ममा तीन करोड २३ लाख मात्रा खोप प्राप्त हुने र माघसम्म जम्मा पाँच करोड २३ लाख मात्रा उपलब्ध हुने बताउनुभयो । उहाँले नेपाली जनतालाई कुल पाँच करोड ५० लाख खोप आवश्यक रहेको उल्लेख गर्दै वर्तमान सरकारले दैनिक एक लाख ५० हजारदेखि दुई लाखसम्म खोप लगाएको जानकारी दिनुभयो ।

बन्द रहेको विद्यालयहरूमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्नका लागि विद्यार्थीलाई खोप उपलब्ध गराउने तयारीका लागि खोप ल्याउने गृहकार्य अगाडि बढाइएको उहाँले बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले विगत एक हप्ताको आँकडा अनुसार कोभिड-१९ संक्रमणदर बढेकाले सबैलाई जनस्वास्थ्यको मापदण्ड अपनाएर सुरक्षित हुन अपिल गर्नुभयो ।

परीक्षणको दायरा बढाउन र खोप केन्द्र सहज गर्न सांसदहरूको आग्रह

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सार्वजनिक महत्वमाथि दिएको वक्तव्यमाथि प्रश्न गर्दै सांसदहरूले खोप केन्द्रमा हुने भीडभाड व्यवस्थापन गरी सहजरूपमा सेवा लिने वातावरण बनाउन आग्रह गरेका थिए ।

सांसद दिव्यमणि राजभण्डारीले परीक्षणको दायरा बढाउनुपर्ने बताउँदै कोरोनाविरुद्ध लड्न नेपाली कांग्रेसले प्रतिपक्षमा रहँदा उठाएको सर्वदलीय संयन्त्र बनाउने कुरा के भइरहेको छ भन्नुभएको थियो ।

यस्तै सांसद शेरबहादुर तामाङले एक महिना पहिले र अहिले तथ्यांक केही फरक नभएको बताउनुभयो । उहाँले सरकारले मेलम्ची क्षेत्रमा बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकले शतप्रतिशत खोप दिने भने पनि नागरिकले नपाएको बताउनुभयो ।

सांसद विमला विकले श्रमिक वर्गलाई खोप दिइनुपर्ने बताउनुभयो भने डिला संग्रौलाले पूर्वप्रधानमन्त्री केपी ओलीले एक करोड मात्रा खोप ल्याएको भनेको भन्दै त्यसको भण्डारणको अवस्था के छ भन्दै प्रश्न गर्नुभएको थियो । सांसद सरीता न्यौपानेले कोभिड-१९ परीक्षणको गलत रिपोर्ट दिनेलाई कारबाही गर्न माग गर्नुभयो ।

यस्तै सांसद गगनकुमार थापाले कोभिडका कारण परीक्षा रोकिएको तर परीक्षार्थीले कहिले खोप पाउने भन्ने निश्चित नभएको बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयले साँझ ८ बजेपछि आवागमन रोकेको भन्दै त्यससम्बन्धी अध्ययनको आधारका बारेमा प्रश्न उठाउनुभएको थियो । महामारीले देखिनेगरी स्वास्थ्य क्षेत्र थला परेको र गैह्रस्वास्थ्य क्षेत्रमा प्रभाव परेको भन्दै उहाँले ती क्षेत्रका समस्यालाई सम्बोधन गर्नेतर्फ सरकार सचेत र गम्भीर हुनुपर्ने आवश्यकता औैल्याउनुभयो ।

सांसद रामकुमारी झाँक्रीले ज्येष्ठ नागरिकले दोस्रो मात्रा खोप पाउनुपर्ने र विदेश जानका लागि खोप लगाउन नागरिकले लाममा बस्नुपर्ने बाध्यता हटाएर त्यसलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो भने सांसद बिन्दा पाण्डेले कोभिड संक्रमणले मानसिक समस्या र हिंसा बढेको बताउनुभयो ।

यस्तै सांसद कृष्णकुमार राईले आफ्नो क्षेत्रमा मःम पसलमा खोप पाइएको बताउनुभयो । सांसद निरुदेवी पालले तेस्रो लहरमा बालबालिकालाई जोखिम बढी भएको तर त्यस क्षेत्रमा विशेषज्ञ कम रहेकाले त्यसको तयारी के भइरहेको छ भनि प्रश्न गर्नुभएको थियो । त्यस्तै सांसद मीनबहादुर विश्वकर्माले दीर्घरोगीलाई दिइने मासिक भत्ताका बारेमा प्रश्न राख्नुभएको थियो भने सांसद राजेन्द्रकुमार केसीले पूर्वप्रधानमन्त्रीले आइसकेको भनेको खोपको संख्या र अहिले सरकारले प्रस्तुत तथ्यांकमा फरक पाइएको बताउनुभयो ।

सांसद महेश्वरजंग गहतराजले हिमाली र पहाडी क्षेत्रमा भण्डारणको समस्या देखिएकाले त्यसमा मन्त्रालयले ध्यान दिनुपर्ने बताउनुभयो भने सांसद धर्मशिला चापागाईंले मन्त्रालयले विज्ञ राखेर प्राविधक टोली बनाएर संक्रमणविरुद्ध लड्न तयारी गर्नुपर्ने बताउनुभयो । सांसद प्रकाश रसाइलीले कर्णाली र सुदूरपश्चिमका अस्पताल जीर्ण भएकाले पूर्वाधारको तयारी आवश्यक रहेको बताउनुभयो भने सांसद् रामबहादुर विष्टले सरकारले चाँडै सबै नागरिकले खोप लगाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

यसैगरी सांसद पुष्पा भुसालले अहिले तेस्रो लहरको चुनौतीसँगै गर्मीयाममा अरू रोग बढिरहेकाले त्यसको नियन्त्रणमा ध्यान दिन सचेत गराउनुभयो भने सांसद गंगा चौधरी, उमा रेग्मी र प्रेम सुवालले खोप लगाउने स्थानमा रहेको भीडभाडको व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभएको थियो ।

थप ३२ सय ६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

बिहीबार थप तीन हजार २६० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८०६ जनाको पिसिआर परीक्षणमा दुई हजार ४७३ र चार हजार ६५६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख २५ हजार ७६९ पुगेको छ । यसअघि बुधबार तीन हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० छ । जसमध्ये ३४ हजार ८३८ जना होम आइसोलेसनमा छन् भने तीन हजार ३४२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोना संक्रमण बिरामीमध्ये ७३७ जना आईसीयू र १८३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

बिहीबार दुई हजार २९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३७७ रहेको छ । निको हुनेदर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार काठमाडौं उपत्यकामा एक हजार १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८११, भक्तपुरमा १३० र ललितपुरमा १९२ जना कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या १० हजार २१२ पुगेको छ । यसअघि बुधबार ३० जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।