संसारकै सर्वोत्कृष्ट विमानस्थलमा कतारको हमाद, दोस्रो स्थानमा जापानकोे हानेदा।

दोहा:= कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल संसारकै सर्वोत्कृष्ट विमानस्थल चुनिएको छ । विमानस्थलहरूको मूल्यांकन एवं बरियता निर्धारण गर्दै आएको स्काईट्र्याक्स कम्पनीले सोमबार सार्वजनिक गरेको सूचीमा कतारको हमाद एयरपोर्ट शीर्ष नम्बरमा रहेको हो ।

झण्डै एक दशकमा पहिलो पटक सिंगापुरको चांगी एयरपोर्टको बरियता खस्केको छ । लगातार शीर्ष स्थानमा रहँदै आएको चांगी यसपटक तेस्रो नम्बरमा झरेको छ । कतार सरकार र कतार एयरवेजको लगातारको लगानी र सुधारपछि हमाद एयरपोर्ट शीर्ष स्थानमा उक्लिएको हो । यसपटकको बरियतामा दोस्रो स्थानमा जापानको टोकियो हानेदा एयरपोर्ट आएको छ ।

शीर्ष १० स्थानमा जापानका तीनवटा विमानस्थल हानेदा, नारिता र कान्साई परेका छन् । यसैगरी दक्षिण कोरियाको इन्चीयोन, जर्मनीको म्युनिख, स्विट्जरल्याण्डको जुरिच, लण्डनको हिथ्रो र हङकङ विमानस्थल पनि शिर्ष १० को सूचीमा पर्न गएका छन् ।