काठमाडौं:= कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थासँग अन्तक्र्रिया आयोजना गरेको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि क्यान र यससँग सम्बन्धित संस्थाबीच आगामी दिनमा हुनुपर्ने संस्थागत, कार्यगत र नीतिगत सहकार्य, सूचना प्रविधिको विकासमा आगामी दिनमा आइपर्ने समस्या एवं चुनौती र आगामी दिनमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि लिनुपर्ने नीति तथा रणनीतिबारेमा सुझावका लागि क्यानले कार्यक्रम आयोजना गरेको जनाएको छ ।
सो अवसरमा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नेपालको आर्थिक विकासका लागि आगामी परिसूचक सूचना प्रविधिको विकास र प्रयोगबाहेक अरू हुन नसक्ने बताउनुभयो । हरेक क्षेत्रको विकासका लागि सूचना प्रविधि प्रयोगको विकल्प नरहेको भन्दे उहाँले आर्थिक समृद्धिका लागि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिनुपर्ने बताउनुभयो । सूचना प्रविधिका क्षेत्रगतरूपमा काम गरिरहेका संस्थासँग सहकार्य गर्दै अघि बढ्ने क्यानको नीति रहेको उल्लेख गर्दै उहाँले सबै आइसिटी क्षेत्रगतरूपमा स्थापना भएका संस्थालाई क्यानमा विषयगत सदस्यका रूपमा आबद्ध हुन आग्रहसमेत गर्नुभयो ।
क्यान महासंघका महासचिव नारायण थापाले क्यानले नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास तथा विस्तारका लागि निजी तथा गैरसरकारी संस्थाको छाता संगठनका रूपमा नीतिगत तथा कानुनी सुधारका लागि पहल गर्दै आएको बताउनुभयो । नेपाल इन्टरनेट फाउण्डसेनका अध्यक्ष विक्रम श्रेष्ठले नेपालमा कार्यान्वयन गर्न सकिने साना–साना पहलले पनि ठूलो परिवर्तन ल्याउन सक्ने भन्दै समस्यामात्र औंल्याउनुको सट्टा समाधान पनि दिनुपर्ने बताउनुभयो ।
नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याद्योले संघले क्यानसँग सहकार्य गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा पनि सहकार्य जारी रहने बताउनुभयो । सो अवसरमाा ई-विजनेस एसोसिएसनका अध्यक्ष सागरदेव भट्ट, प्राइम आइटी क्लबका अध्यक्ष रुजन श्रेष्ठ तथा महासचिव सृजय श्रेष्ठ, नेपाल मोबाइल वितरक संघका सदस्य राम श्रेष्ठ, नेपाल ई-गभर्नेन्स सोसाइटीका उपाध्यक्ष दीपेन्द्र पौडेल, स्टार्टअप एसोसिएसन नेपालका सदस्य नारायण क्षेत्री, नेशनल आइसीटी क्लबका अध्यक्ष नेत्रप्रसाद पौडेल, डिजिटल मार्केटिङ एसोसिएसनका सदस्य निरञ्जन पटेल, सिटिभिटी टेक्नोस सोसाइटीका अध्यक्ष सञ्जय बस्नेत तथा महासचिव राजन मानन्धर, कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपालका कोषाध्यक्ष दिपक ठाकुर तथा सदस्य सुवास शिव परियार र नवीन अधिकारी, नेपाल डाटा सेन्टर सोसाइटीका प्राविधिक सुरेन्द्र गिरीलगायतले पनि सूचना प्रविधिको विकासका लागि सहकार्यमा जोड दिनुभएको क्यानका महासचिव नारायण थापाले जानकारी गराउनुभएको छ ।




















