काठमाडौं:= पाँच महिनाअघि कतारमा घुँडाको शल्यक्रिया गराउनुभएका राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको स्वास्थ्यमा क्रमशः सुधार आएको छ । उहाँको घुँडाको ग्राउन्ड रिहृयाब सुरु भएको एन्फाले जनाएको छ । पुस पहिलो साता प्रशिक्षणका दौरान विमलको घुँडामा चोट लागेको थियो ।
कतारस्थित अस्पेटार अस्पतालमा फागुन २५ गते उहाँको घुँडाको सफल शल्यक्रिया भएको थियो । त्यसयता आफ्नो घुँडामा निकै सुधार भएको विमलले बताउनुभयो । अहिलेको जस्तै सुधार भइरहेको खण्डमा अबको झण्डै दुई महिनामा स्वदेश फर्कने सम्भावना रहेको विमलले बताउनुभएको छ । सो भएमा उहाँले ए डिभिजन लिग खेल्ने सम्भावना बढेको छ ।
विमलले गत सिजन मच्छिन्द्र क्लबबाट ए डिभिजन लिग जित्नुभएको थियो । त्यसअघि उहाँले नेपालमा थ्रीस्टारबाट पनि खेल्नुभएको थियो । त्यसबीच उहाँले भारतको मोहुन बगान र माल्दिभ्सको टिसी स्पोर्ट्सबाट पनि खेल्नुभयो ।
यस्तै कतारमै उपचाररत राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारिको पनि स्वास्थ्यमा सुधार आइरहेको छ । उहाँको पनि घुँडाको शल्यक्रिया गरिएको थियो । असार १२ गते कतार जानुभएको सावित्राको असार ३१ गते दायाँ घुँडाको शल्यक्रिया भएको थियो ।

राष्ट्रिय लिग खेल्नेक्रममा फागुन ३ गते उहाँको घुँडामा चोट लागेको थियो । शल्यक्रियाको एक साता निकै कठिनसाथ बिताए पनि त्यसपछिका दिन विस्तारै सहज र घुँडामा पनि सुधार भइरहेको सावित्राले बताउनुभयो । फिजियोले अबको एक सातामा अर्को बैशाखी पनि छोड्न मिल्ने बनाएको सावित्राले बताउनुभयो । अहिले साताको पाँच दिन उहाँले फिजियो गराइरहनुभएको छ ।
सावित्राको नाममा राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोलको कीर्तिमान छ । नेपाली फुटबलमा एपीएफले बर्चस्व जमाउँदा उहाँले इण्डियन लिग (आई लिग) दुई फरक क्लबबाट खेल्नुभएको थियो । दुवैपटक उहाँ खेलेको टोली आई लिग च्याम्पियन बनेको थियो ।




















