काठमाडौं := टोकियो ओलम्पिक २०२० को पुरुष फुटबलअन्तर्गत ब्राजिलले लगातार दोस्रो पटक स्वर्ण पदक जितेको छ ।
शनिबार भएको फाइनलमा स्पेनलाई २-१ ले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जितेको हो । ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एक-एक गोल गरे । यता स्पेनका लागि मिकेल ओयार्जाबलले एक गोल फर्काए ।
निसान स्टेडियममा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा माथुएसले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाए ।तर, खेलको ६१ औं मिनेटमा ओयार्जाबलले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा ब्राजिलका माल्कोमले १०८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई २-१ को जितसहित स्वर्ण पदक दिलाए ।




















