कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैको हातोमालो आवश्यक: प्रधानमन्त्री देउवा।

काठमाडौं:= प्रधानमन्त्री शेरबहादुर देउवाले महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैले हातोमालो गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।

उहाँले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव नभएको प्रस्ट्याउनुभएको छ । ‘कोरोना महामारीको तेस्रो लहरका लक्षणहरु देखिन थालेका छन् । सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव छैन,’ प्रधानमन्त्री देउवाले भिडियो सन्देशमा भन्नुभएको छ, ‘हामी सबै मिलेरमात्रै यो महामारीलाई तह लगाउन सकिन्छ ।’

उहाँले महामारीबाट जोगिन आमनागरिकलाई आवश्यक परे मात्रै घर बाहिर निस्कन, निस्किदा नाक र मुख छाोपिने गरी मास्कको प्रयोग गर्न पनि आग्रह गर्नुभएको छ । ‘म यहाँहरुसँग आग्रह गर्दछु– अत्यन्त आवश्यक परेको बेलामात्रै बाहिर निस्कौं । बाहिर निस्कुन अघि नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाऔं । भौतिक दूरी कायम गरौं । र बेलाबेलामा साबुन पानलिे हात धोऔं । स्वास्थ्य सचेतनासम्बन्धी मापदण्डहरु सबै पालना गरौं ।’

महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी अस्त्र खोप भएको भन्दै प्रधानमन्त्री देउवाले खोप लगाउन जाँदा सामाजिक दूरी कायम गरी लाइनमा बस्न पनि आग्रह गर्नुभएको छ । ‘महामारी नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी अस्त्र भनेको खोप हो । अहिले विभिन्न उमेर समूहलाई खोप लगाउने कार्यक्रम जारी छ । खोप लगाउन जाँदा सामाजिक दूरी कायम गरी लाइनमा बस्न पनि म सबैलाई अनुरोध गर्दछु,’ उहाँले भन्नुभएको छ । प्रधानमन्त्रीले राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघसंस्थाहरुलाई भिडभाड हुने गरी कार्यक्रमहरु आयोजना नगर्न र स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएर मात्रै पेशा, व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

‘सम्पूर्ण राजनीतिक दलहरु, निजी क्षेत्र, गैरसरकारी संस्थाहरुलाई पनि भिडभाड हुने कार्यक्रम नगर्न, स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड अपनाएर मात्र आप्mनो पेशा व्यवसाय, गतिविधि सञ्चालन गर्न पनि अनुरोध गर्दछु,’ भिडिओ सन्देशमा उहाँले भन्नुभएको छ, ‘मलाई पूर्ण विश्वास छ हामी सबैको साझा प्रयासले हामी छिट्टै महामारी नियन्त्रण गर्न सफल हुनेछौं ।’