एजेन्सी:= अर्जेन्टिनी स्टार लियोनल मेस्सीको भविष्यबारे अहिले विश्व फुटबलमै चर्चाको विषय बनेको छ । क्याटलान क्लब बार्सिलोनाले आफ्ना स्टार मेस्सीको सम्झौता नविकरण गर्न नसकेपछि उनको स्थानान्तरणबारे चर्चा चलिरहेको छ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब म्यानचेस्टर सिटीले मेस्सी अनुबन्धको लागि चासो देखाइरहेको छ । यसैबीच पीएसजीका मालिक कतारी राजकुमारका भाई खालिद बिन हमाद बिन खालिफा अल थानीले मेस्सी पीएसजी आउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘सहमति औपचारिक रूपमा निष्कर्षमा पुगिसक्यो । केहीपछि घोषणा हुनेछ ।’
यो कुनै अस्वभाविक समाचार भने होइन । यसअघि शुक्रबार म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लब मेस्सीलाई आबद्ध गर्नेमा नलागेको घोषणा गरेका थिए । उनले प्रि–म्याच पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका थिए । अहिलेको अवस्थामा यी दुई क्लबमात्रै मेस्सीलाई अनुबन्ध गर्न आर्थिक रूपमा सक्षम छन् ।
च्याम्पियन्स लिग जित्ने अभियानमा लागेको पीएसजीले यस समरमा जर्जिनो वाइनाल्डम, अचरफ हाकिमी, सर्जियो रामोस र जियानलुइजी डोन्नररुम्मालाई क्लबमा अनुबन्ध गरिसकेको छ ।



















