निर्वाचन आयोगद्वारा ४१ दलको दर्ता खारेज, अब ९५ दलको मात्र अस्तित्व।

काठमाडौं:= निर्वाचन आयोगले ४१ दलको दर्ता खारेज गरेको छ । लगातार तीन वर्ष लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको जनाएको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै चुरे भावर लगायतका ४१ वटा दलको दर्ता खारेज भएको जनाएको हो ।

आयोगको मंगलबार बसेको बैठकले खारेज भएका ती दलसँगप्रति दल ५० हजार रूपैयाँ जरिवाना पनि तोकेको छ । जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरू दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरू दलको पदाधिकारी बन्न नपाउने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय चुरेभावर पार्टी, नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टी, देशभक्त लोकतान्त्रिक पार्टीलगायत ४१ वटा दल खारेज भएसँगै देशमा ९५ वटा दलको मात्र आयोगमा दर्ता कायम छ । चुरे भावर पार्टी संविधानसभामा सांसद र मन्त्री बनाएको पार्टी हो । आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरूको नामसहितको विवरण पनि सार्वजनिक गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिमको कसुर एकपटक भन्दा बढी गरेमा वा दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा तोकिएको जरिवाना नबुझाएमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

दर्ता खारेज भएका पार्टीमा राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी, राष्ट्रिय जनएकता पार्टी, हाम्रो पार्टी, नयाँ संघीयता जनधारणा पार्टी, मातृभूमि नेपाल पार्टी, नेपाल नागरिक पार्टी, नागरिक समाजवादी पार्टी, देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा, नेपाल न्यायिक दल, अखण्ड नेपाल पार्टी, युवा शक्ति नेपाल पार्टी, हाम्रो नेपाल पार्टी, शिवसेना पार्टी, श्रमिक जनता पार्टी नेपाल, नेपाः राष्ट्रिय पार्टी, नेपाल प्रजातान्त्रिक प्रगतिशील पार्टी, मधेश समता पार्टी नेपाल, नेपाली कांग्रेस राष्ट्रवादी, चुरेभावर राष्ट्रिय पार्टी छन् ।

यस्तै, हिन्दू प्रजातान्त्रिक पार्टी, राष्ट्रिय पुनर्जागरण पार्टी, युवा नेपाल पार्टी, लिबरल डेमोक्रेटिक पार्टी, नयाँ पिपुल्स पार्टी, नेपाल लोकतान्त्रिक जनता कांग्रेस, चुरेभावर राष्ट्रिय पार्टी, नेपाल गणतान्त्रिक एकता पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल, राष्ट्रिय जनता दल नेपाल, लोक कल्याणकारी जनता पार्टी नेपाल, बौद्धिक जनतान्त्रिक परिषद् रहेका छन् ।

यसैगरी, नेपाल, राष्ट्रिय श्रमिक नागरिक पार्टी, मूलबासी मुक्ति पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, संघीय लिम्बुबान नेपाल, नेपाल श्रमिक शक्ति पार्टी, किरात खम्बुवान लोकतान्त्रिक पार्टी, दलित मुस्लिम जनशक्ति पार्टी, जनता पार्टी र आजाद जनता पार्टी छन् ।