काठमाडौं:= दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको घटनाको बारेमा छानबिन गर्न सरकारले समिति गठन गरेको गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभालाई जानकारी दिनु भएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले उक्त घटनाको बारेमा सरकारले संसद्लाई जानकारी दिनुपर्ने माग गरेपछि गृहमन्त्री खाँणले समिति गठन गरिएको बताउनु भयो ।
गृहमन्त्री खाँडले भन्नुभयो, तुइन तर्ने क्रममा खसेर मृत्यु भएको भनी जिल्ला प्रहरी कार्यालय दार्चुलामा निवेदन दिएका छन् । तुइन तरेर पारी पुगेका तीन जनासँग जानकारी लिने काम भइरहेको छ,’ ।
उक्त घटनाका सम्वन्धमा छानविन गर्न सरकारले गठन गरेको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको उहाँले बताउनु भयो । साथै भारततर्फ जिप्रका दार्चुलाले पत्राचार गरेको बताउँदै उहाँले भारत र नेपालतर्फका सुरक्षाकर्मीले खोजी गरे पनि अहिलेसम्म जिवित वा मृत फेला नपरेको जानकारी दिनु भयो ।
मन्त्रीस्तरीय निर्णयबाट साउन १७ गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहकायक जिल्ला अधिकरी ज्योत्सना भट्ट जोशी रहेको ५ जनाको समिति गठन गरिएको गृहमन्त्री खाँडले जानकारी दिनु भयो ।
समितिले १० दिन भित्र प्रतिवेदन पेश गर्ने गृहमन्त्री खाँडले बताउनु भयो । धामीको खोजी नेपाल र भारतका सुरक्षाकर्मीले महाकालीमा खोजिरहेको पनि उहाँको भनाइ थियो ।




















