ए डिभिजन लिग फुटबल सर्‍यो, पुरस्कार बढ्यो।

काठमाडौं:= सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको आयोजना मिति सरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार क्लबहरूसँग छलफल गर्दै मिति सरेको जानकारी दिएको हो । यसअघि असोज ३ गतेबाट सुरु गर्ने तय भएको मिति अब कात्तिक २९ गतेबाट सुरु हुने भएको हो ।

अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने कारण लिग पछाडि सारिएको एन्फाले जनाएको छ । दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) आयोजनाका लागि सरकारले पाँच करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ । साफ आयोजनाका लागि १० करोड रुपैयाँ बुझाउनुपर्नेमा पाँच करोड सरकारले दिने भएपछि पाँच करोड अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले जुटाउने भएको छ ।

च्याम्पियनसिप नेपालमा आयोजना गर्न आवश्यक पर्ने कुल दश करोड रुपैयाँबराबरको विस्तृत प्रस्तावसहित साफलाई अनुरोध गर्ने एन्फाले गरेको प्रवक्ता किरण राईले बताउनुभयो । अघिल्लो हप्ता बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकमा बंगलादेशले आयोजना गर्न नसक्ने औपचारिक जानकारी दिएपछि नेपाललाई प्रस्ताव पेश गर्न आग्रह गरेको थियो । प्रतियोगिता अक्टोबरमा गर्ने सहमति भएको छ । आयोजनाका लागि नेपालसँगै माल्दिभ्स र भारतले पनि दाबेदारिता प्रस्तुत गरेका थिए । तर गत आइतबार भने नेपालले साफबाट आयोजना गर्न औपचारिक प्रस्ताव राख्ने अवसर दिएको हो ।

यसपल्ट साफमा पाँच टोलीले सहभागिता जनाउनेछन् । पाकिस्तान फिफाको प्रतिबन्धमा रहेका कारण सहभागिता जनाउने छैन । भुटानमा भने कोरोना संक्रमणका कारण देशबाहिर जान प्रतिबन्ध रहेका कारण सहभागिता नहुने भएको छ । प्रतियोगितामा नेपाल, माल्दिभ्स र भारतसँगै श्रीलंका र बंगलादेशले खेल्नेछन् ।

पुरस्कार बढ्यो

यस्तै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ । एन्फाले यस पटक पुरस्कार राशिमा २५ लाखले वृद्धि गरेको हो । अघिल्लो सिजनको विजेताले ५० लाख पाएको थियो । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने छन् । एन्फाले क्लबलाई तयारी खर्चको लागि २०/२० लाखसमेत उपलब्ध गराउनेछ ।

राजीनामाबाट पछि हटे राई

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहनुभएका राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिने तयारी भए पनि पछि हट्नुभएको छ । सोहीअनुसार एन्फाले आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलनको सूचना जारी गरेको थियो । तर सवा घण्टाअघि पुनः एक सूचना जारी गर्दै एन्फाले प्रवक्ता राईको कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।

विदेशी प्रशिक्षकले एन्फाका वरिष्ठ उपाध्यक्षमाथि सामाजिक सञ्जालमा आरोप लगाउँदै राजीनामाको घोषणा गरेपछि प्रवक्ता राई पनि असन्तुष्ट हुनुहुन्छ । शनिबार रातिमात्र उहाँले फेसबुकमा स्टाटस लेख्दै पद छाड्ने संकेत गर्नुभएको थियो । उहाँले सामाजिक सञ्जालमा आइतबार दिउँसो बाँकी कुरा उल्लेख गर्ने वाचा गर्नुभएको थियो ।

बन्द प्रशिक्षणका खेलाडीलाई बिदा

साफ च्याम्पियनसिप तथा एसियन कपको अन्तिम तयारीमा रहेका राष्ट्रिय टिमका खेलाडीहरूलाई १० दिनको बिदा दिइएकोे छ । बन्द प्रशिक्षणमा ३६ जना खेलाडीलाई साफ च्याम्पियनसिपको मिति केहीपछि धकेलिएका कारण आराम दिइएको एन्फाले जनाएको छ ।

शुक्रबार भएको एन्फाको आपतकालिन बैठकले पनि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र प्रशिक्षक अलमुताइरीबीचको समस्या हल गर्न नसकेपछि एन्फाले खेलकुद मन्त्रालयलाई छानविनका लागि पत्र पठाएको छ ।

थापा थ्रीस्टार

मिडफिल्डर डोना थापा थ्री स्टार क्लबमा अनुबन्धित हुनुभएको छ । थ्री स्टारले डोनालाई आगामी ए डिभिजन लिगका लागि अनुबन्ध गरेको हो । सम्झौता भएसँगै डोनाले थ्री स्टारमा १० नम्बरको जर्सी लगाउनुहुनेछ । थ्रीस्टार र थापाबीचको सम्झौता रकम भने खुलाइएको छैन ।

एन्फा एकेडेमीको उत्पादन २४ वर्षीय डोनाले राष्ट्रिय टोलीको उमेर समूहबाट खेलेपनि सिनियर टोलीबाट डेब्यु गर्न पाउनुभएको छैन । उहाँले गत फागुनमा भएको ‘बी’ डिभिजन लिग श्री भगवती क्लब टोखाबाट खेल्नुभएको थियो ।

गत जेठमा काठमाडौंमा सम्पन्न खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा उहाँले ललितपुर सिटी एफसीबाट खेल्नुभएको थियो । डोनाले २०७५ का लिग मनाङ मस्र्याङ्दी क्लबबाट खेल्नुभएको थियो । डोनाले नेपालका लागि उमेर समूहमा यू–१९ साफ च्याम्पियनसिप पनि जित्नुभएको छ ।