अन्ततः नेपालको प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई।

काठमाडौं := अन्ततः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा संसदद्वारा बहुमतका साथ नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्।

आइतबार राति प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै मोदीले बधाई दिएका हुन् । ट्वीटरमार्फत सफल कार्यकालको बधाइ दिँदै मोदीले भनेका छन्, ‘सबै क्षेत्रहरुमा हाम्रो अनौंठो साझेदारीलाई अझ बढाउनको लागि म तपाईसँग काम गर्न अगाडि हेर्छु, र हाम्रो गहिरो जराका जनता-जनताको सम्बन्ध सुदृढ पार्दछु।’

 

पछिल्लोसमय भारतीय राजदूतको बधाई आएपनि सरकारबाट आधिकारिक बधाई नआएकोमा विभिन्न टिकाटिप्पणी भएका थिए । आज भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिएका थिए ।

देउवाले साउन २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सर्वोच्च अदालतको साउन २८ गतेको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिपल्ट देउवालाई प्रधानमन्त्री पदको शपथ खुवाएकी थिइन् ।